निसीखोला गाउँपालिकाका युवाहरूको आकर्षण बनेकाे व्यावसायिक कृषि

बागलुङ, १ फागुन । निसीखोला गाउँपालिका–४ झिम्पामा पुग्दा गाउँकै बीचमा दुई/तीन प्लास्टिक टनेल देखिन्छ । टनेलभित्र लटरम्म फलेका गोलभेँडा, कलकलाउँदा सागसब्जी र टिपेर खाउँखाउँ लाग्ने फलफूल पनि ।

हरेक दिन बिहान र बेलुका यही भेटिनुहुन्छ शिक्षक गोपीकृष्ण क्षेत्री । यहाँ पुगेर देख्दा धेरैलाई लाग्न सक्छ, यो त अनुभवी कृषकको करेसाबारी हो तर, उहाँ आफूलाई कृषिबारे धेरै ज्ञान नभएको बताउनुहुन्छ । यद्यपि उहाँको पौरख देख्दा अनुभवी कृषकको भन्दा कम देखिँदैन ।

“विद्यादय नजिक छ, दिउँसभरि पढाए पनि बिहान बेलुका खालीनै भइन्छ, खाली समयमा किन यतिकै बस्ने भनेर तरकारी खेती सुरु गरेको हुँ, सुरुमा सानो लगानीबाट सुरुआत गरेको अहिलेसम्म आउँदा रु सात लाख बढी लगानी गरेको छु, ।” शिक्षक क्षेत्रीले भन्नुभयो ।

क्षेत्री कृषकभन्दा बढी ‘मास्टर’ भनेर परिचित हुनुहुन्छ । उहाँको मुख्य पेसा शिक्षण हो । विसं २०६८ देखि शिक्षण पेसामा आबद्ध हुनुभएका उहाँले व्यावसायिक कृषि पेसालाई पनि आत्मसात् गरिरहनुभएको छ । दिनभर विद्यालयमा शिक्षण गर्ने क्षेत्री बिहान–बेलुका आफ्नो कृषि फर्ममा खटेर काम गर्नुहुन्छ । उहाँको त्यो खटाइ र कृषि उत्पादन देख्दा छरछिमेकी पनि दङ्ग पर्छन् । कृषि कर्ममा क्षेत्रीलाई परिवारको पनि राम्रो साथ सहयोग छ । यसले गर्दा अझ बढी उहाँ हौसिनुभएको छ ।

उहाँले शिक्षणसँगै कृषिलाई बढावा दिने हिसाबले २०७४ सालदेखि ‘झिम्पा फलफूल तथा तरकारी कृषि फर्म’ दर्ता गर्नुभएको छ । आठ वर्षदेखि शिक्षण पेसालाई अँगाल्दै आए पनि तीन वर्ष अगाडि मात्रै प्रावि तहको स्थायी शिक्षक बन्नुभएको थियो । हाल उहाँ जनजीवराज सुशीला माध्यमिक विद्यालय झिम्पामा शिक्षण गरी रहनुभएको छ । विशेष गरी फलफूल र तरकारी उत्पादनलाई जोड दिनुभएका क्षत्रीले आम्दानी पनि राम्रो हुँदै गएको बताउनुहुन्छ ।

तरकारी र फलफूल बेचेर वार्षिक करिब रु तीनदेखि पाँच लाख आम्दानी गरेको उहाँको भनाइ छ । बजारको समस्या नहुँदा मर्कामा नपरेको उहाँको भनाइ छ । उत्पादित तरकारी र फलफूल झिम्पा गाउँलगायत कानाबजार, झिवाखोला बजार, निसी, भल्कोट, बुर्तिबाङ लगायतका स्थानमा खपत हुने गरेको छ ।