सचिवस्तरीय बैठकमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा
काठमाडाैं, १ फागुन । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने औपचारिक नेपाल भ्रमणमा आउनुभएको छ ।
काठमाडौं आइपुगेलगत्तै विदेश सचिव क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी हुनुभएको छ । सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा उहाँहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने जनाइएको छ ।
दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भारत र नेपालबीच सभ्यतागत एवं ऐतिहासिक सम्बन्ध छ । यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ ।
विदेश सचिवको कार्यभार सम्हालेपछिको उहाँको यो पहिलो नेपाल भ्रमण हो ।
