यातायात मजदुरको सार्वजनिक यातायात बन्द छलफलपछि फिर्ता

काठमाडौं, २ फागुन । यातायात मजदुर संगठनले उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्द कार्यक्रम फिर्ता लिएकाे छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्ता पश्चात बन्द कार्यक्रम फिर्ता लिएकाे हाे ।

वार्तामा सहभागी एक सदस्यका अनुसार यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानविन गर्ने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेज लगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए ।

सोही आन्दोलनको क्रममा बालाजु माछापोखरी क्षेत्रमा प्रहरीका गाडीमाथि आगजनी र तोडफोडका घटना भएका थिए । बेलुकीपख एक हुल ल्होत्से मलमा प्रवेश गरी पसलहरु तोडफोड समेत गरेको थियो ।

समस्या समाधानका लागि आज बिहानैदेखि सिंहदरबारमा सरकार र यातायात मजदुरका प्रतिनिधिहरुबीच वार्ता भएको थियो ।