नामिबियाले दियाे नेपाललाई २८६ रनको लक्ष्य

काठमाडौं, २ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शृखंलाको पहिलो खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाका भान लिगेनले १३३ रन बनाएपछि ५० ओभरमा सबै १० विकेट गुमाएर २८५ रन बनाएको हो ।

भान लिगेनले ओडिआईमा तेस्रो शतक हो भने नेपाल विरुद्ध उनले लिग टु मा लगातार दोस्रो शतक प्रहार गरेका हुन् । यसअघि डिसेम्बरमा नामिबियामै भएको लिग टु खेलमा उनले नेपाल विरुद्ध १२१ रन बनाएका थिए ।

कप्तान जेरार्ड इरास्मसले ५६ रन बनाए । लिगेनले तेस्रो विकेटका लागि कप्तान जेरार्ड इरास्मससँग १२४ रनको साझेदारी गरेका थिए । यसबाहेक, जन ग्रीनले ३४, कार्ल बिर्केनस्टोक र जान फ्राइलिंकले समान १३ रन जोड्दा रुबेन ट्रम्पेलम्यानले ११ रन थपे ।

नेपालका करण केसीले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडनसहित ६१ रन खर्चिए ।

राष्ट्रिय टिममा ६ महिनापछि ‘कमब्याक’ गरेका सन्दीप लामिछानेले तीन विकेट लिए । कुशल मल्ल र सोमपाल कामीले समान एक विकेट लिए ।