आउँदो वैशाख १ गते एकैदिन पाँच चलचित्र प्रदर्शन हुने

काठमाडाैं, ३ फागुन । आउँदो वैशाख १ गते एकैदिन पाँच चलचित्र प्रदर्शन हुने भएकाे छ । नयाँ वर्ष चलचित्र प्रदर्शनका लागि उपयुक्त समय मानिएकाले प्रदर्शनको मिति तय गरेका हुन् ।
प्रदर्शनका लागि चलचित्र ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले मिति घोषणा गरेका छन् ।
यीमध्ये दुई चलचित्र जारी र बिहे पासमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् । दुवै चलचित्र विवाहमा केन्द्रित रहेर बनाएका छन् ।
एकै दिन आफ्ना दुई चलचित्र प्रदर्शनमा आउँदा अभिनेता राई भने खुसी देखिन्न । उनले भने, “मैले पनि निर्माताले रिलिज मिति घोषणा गरेपछि मात्रै थाहा पाएको हुँ, किन एउटै मिति रोज्नुभयो थाहा छैन । एकै दिन पाँच–छ मध्ये आफ्नै दुई चलचित्र हुँदा अस्वभाविक लागिरहेको छ ।”
चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बजारले धान्नै नसक्ने गरी एउटै मितिमा धेरै चलचित्र प्रदर्शनमा आउनु राम्रो नभएको बताए । यसको समाधानका लागि निर्मातालाई समझदारी र सहमतिमा अगाडि बढ्न अनुरोध गरिएको अध्यक्ष खड्काले बताए ।
वितरक सुनिल मानन्धरले नयाँ वर्ष नेपाली चलचित्रका लागि शुभ भए पनि भीडभाडले समस्या निम्त्याउन सक्ने बताए । एउटै मितिका लागि प्रदर्शन घोषणा भए पनि प्रदर्शन मितिसम्म पुग्दा केहीले भने मिति सार्ने गरेका छन् ।