ग्यास सिलिन्डर विस्फोटबाट सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन

काठमाडौ, ४ फागुन । ग्यास सिलिन्डर विस्फोटबाट सख्त घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

उपचारको क्रममा कीर्तिपुर अस्पतालमा लगिएकाे हरिकलाको बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो ।

आमासँगै घाइते भएका नेता भण्डारी कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका छन् । उनकाे अवस्था पनि जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।
गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको बताइएको छ ।