राष्ट्रपति भण्डारीद्वारा बागलुङ कालिका मन्दिरमा विशेष पूजाअर्चना

बागलुङ, १० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ ।

आज बिहान राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो । नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान १०ः३० बजे बागलुङ पुग्नुभएका राष्ट्रपति भण्डारीले करिब १५ मिनेट विशेष पूजाअर्चना गर्नुभएको थियो ।

उहाँ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको विशेष निमन्त्रणामा कालिका मन्दिरको दर्शन र पूजाअर्चनाका लागि बागलुङ पुग्नुभएको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले कालिकाको विशेष पूजाअर्चनापछि मन्दिरका मूल पुजारी जयबहादुर खड्काको हातबाट प्रसाद ग्रहरण गर्नुभयो । कालिका भगवती मन्दिरको दर्शपछि राष्ट्रपति भण्डारीले कालिका मन्दिरको संरक्षणसम्बद्र्धन र प्रबद्र्धन गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले कालिका मन्दिरको विशेष आगन्तुक पुस्तिकामा लेख्नुभएको छ “बागलुङ जिल्लामा अवस्थित यस प्रसिद्ध कालिका भगवतीको दर्शन गर्ने सु–अवसर प्राप्त भएकोमा म साह्रै हर्षित छु, यो अवसर जुटाउने कालिका भगवती गुठीका संरक्षक तथा पदाधीकारीहरु, कर्मचारी एवं नागरिक समाजलाई विषेश धन्यवाद दिन चाहन्छु, यो समितिले यस ऐतिहासिक र धार्मिक मन्दिरको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन मिलाउन विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु ।”

नेपालका पहिलो महिला राष्ट्रपतिद्वारा कालिका मन्दिर दर्शन पश्चात कालिका मन्दिरको महिमा र महत्व झनै बढ्ने बताउँदै बागलुङ कालिका गुठी व्यवस्थापन समितिले राष्ट्रपतिको कालिका मन्दिर दर्शन कार्यक्रलाई भव्य बनाउन सबैले सहयोग गर्नुभएकाे बताउनुभयो । अहिले बागलुङ कालिका मन्दिरलाई पुनःनिर्माण गरी कलात्मक स्वरुपमा परिवर्तन गरिँदै छ । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हरेक महिना ठूलो सङ्ख्याका दर्शनार्थी आउने गर्दछन् ।

पर्वतका राजा प्रतापीनारायण मल्लले विसं १५९० मा राज्यरोहण गरेका थिए । उनको विवाह विसं १५९१ मा पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएकी इतिहासमा पाइन्छ । पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किम्बदन्ती छ ।

वर्षको दुई पटक चैते दसैं र बडा दसैंमा नियम पूजा (जसलाई सरकारी पूजा पनि भनिन्छ) हुदैँ आएको छ । नियम पूजामा पञ्चबलि चढाइन्छ । सामान्यतया पाँच बलि अन्तर्गत एक बोका, दुई राँगो, तीन कुखुरा, हाँस परेवा र पाँच सुङ्गुर पर्दछन् ।