सुनसरीको बर्जुमा दादुरा फैलिएपछि १० हजार बालबालिकालाई खोप लगाइँदै

काठमाडौं, १३ फागुन । सुनसरीको बर्जु गाउँपालिकामा तिब्रगतिमा दादुरा फैलिएको छ। बर्जुमा दुई साताको अवधिमा २९ जनामा दादुरा देखिएका छन् ।

बर्जुमा पहिलो पटक २ नम्बर वडामा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो। हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेका छन्। जसमध्ये केही वयस्क व्यक्तिसमेत रहेका छन्।

योसँगै गाउँपालिकाको एकै स्थानमा एकसाथ ५ जना बढी दादुरा संक्रमित भेटिएसँगै स्वास्थ्य कार्यालय सुनसरीले आपतकालीन कार्य योजना अघि बढाएको छ।

प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्थानीय निकायसँगको समन्वयमा दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले एकसाथ १० हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताए।

उनले दादुरा अति संक्रमित रोग भएकाले एउटै क्षेत्रमा ५ जना पुष्टि भए यसलाई महामारीको रुपमा लिइने बताए।

२९ जना पोजेटिभ फेला परिसकेको बर्जुमा थप केही शंकास्पद केस परीक्षणको क्रममा रहेकाले संख्या थप बढ्नसक्ने स्वास्थ्य कार्यालय सुनसरीको अनुमान छ।

दादुरा तीव्र संक्रमण फैलने र जटिल प्रकृतिको रोग भएकाले फैलन नदिन रोकथामका सबै उपाय अविलम्व अवलम्वन गर्न लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ।

कार्यालयका अनुसार बर्जुका सबै ६ वटै वडाहरुमा फागुनको १६ गतेबाट एकसाथ दादुराविरुद्धको खोप अभियान सञ्चालनमा ल्याइने छ। अभियानमा ६ महिना देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई दादुराविरुद्धको खोप लगाउने गरी गरिएकाे कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *