पपुवा न्यूगिनीले दियाे नेपाललाई २०४ रनको लक्ष्य

काठमाडौं, १५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा सुरु भएकाे शृखंलाको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०३ रनको योगफल बनायो ।
बलिङमा राम्रो सुरुवात गरेपनि नेपालले डेथ ओभरमा त्यसलाई कायम राख्न नसक्दा पीएनजीले २०० रन कटाएको थियो । पीएनजीले अन्तिम पाँच ओभरमा ४३ रन जोडेको थियो ।
पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनायो । सुरुको ३० ओभरमा १०० रन बनाएको पीएनजीले त्यसपछि २० ओभरमा १०३ रन बनाएको थियो ।
पीएनजीका लागि सातौं नम्बरमा ब्याटिङ गरेका चाड सपर र कप्तान असद भालाले सर्वाधिक ३६-३६ रन बनाए । यस्तै सेस बाउले ३१, किपलिन डफरिगाले २९ र नोर्मन भानुअले २५ रन बनाए । हिरी हिरी १० रन बनाएर आउट भए ।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ३ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए । कुशल मल्लले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।
सोमपाल कामी, करण केसी र डेब्युटान्ट प्रतिश जिसीले समान १ विकेट लिए । सोमपालले ६ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चिए । करणले ९ ओभरमा २ मेडन राख्दै ३० रन खर्चिए ।