प्रयोगविहीन बन्दै सिन्धुपाल्चोकमा रहेका आयुवेर्दिक औषधालय

सिन्धुपाल्चोक, १७ फागुन । सिन्धुपाल्चोकमा रहेकाे आयुवेर्दिक औषधालय प्रयोगविहीन बन्दै गएकाे छ । उपचार प्रभावकारी हुने भए पनि सिन्धुपाल्चोकमा रहेका आयुर्वेदिक औषधालयमा सेवाग्राहीको खासै ध्यान जान सकेको छैन ।
एलोपेथिक औषधिले मात्रै रोग निको हुन्छ भन्ने अल्पज्ञानले आयुर्वेदिक औषधिमा सर्बसाधारणको चासो नगएको हो । आयुर्वेदिक उपचारबाट पनि विभिन्न रोग निको हुने भएकाले यसको प्रचारप्रसार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले मङ्गलबार आयोजना गरेको आयुर्वेद सेवाको प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष जीवन श्रेष्ठले आयुर्वेदिक उपचारका लागि चेतना अभिबृद्धि आवश्यक रहेको बताउनुभयो ।
आयुर्वेदिक औषधिको प्रयोगमा सञ्चारकर्मी, जनप्रतिनिधि र सरोकारवालाले प्रचारप्रसार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उक्त केन्द्रका अध्यक्ष कमल अधिकारीले कृतिम औषधि सेवनले जनस्वास्थ्यमा असर पार्ने भएकाले जिल्लामा रहेका महत्वपूर्ण जडीबुटीलाई प्रयोगमा ल्याइ प्रचारप्रसार गराउनुपर्ने बताउनुभयो ।
केन्द्रका प्रमुख डा अञ्जु कार्कीले केन्द्रमा अम्लपित्त, कब्जियत, अतिसार, मधुमेह, उच्च रक्तचाप, स्त्रीरोग, दम खोकी, स्वासप्रस्वासलगायत रोगको उपचार हुँदै आएको बताउनुभयो । जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसहित छ वटा आयुर्वेदिक औषधालय र पाँचवटा आरोग्य सेवा केन्द्र रहेको उहाँले जानकारी गराउनुभयो ।
केन्द्रबाट २३ थरिका औषधि निःशुल्क वितरण भइरहे पनि उचित प्रचारप्रसार र सेवाग्राहीमा विश्वास दिलाउन नसक्दा आयुर्वेदिक औषधालय ओझेलमा परेको डा कार्कीले उल्लेख गर्नुभयो । बाह्र वटा स्थानीय तह रहेको जिल्लाका जुगल , हेलम्बु, ईन्द्रावती र भोटेकोशी गाउँपालिकामा भने आयुर्वेदिक औषधालय स्थापना हुन सकेको छैनन् ।