सेतो मत्स्येन्द्रनाथको रथयात्रा चलाउन व्यवस्थापन समिति गठन
काठमाडौं, २५ फागुन । सेतो मत्स्येन्द्रनाथ (जनबहाः द्यः) को रथयात्रा सहजतापूर्वक सञ्चालनार्थ आवश्यक व्यवस्थापन गर्न समिति गठन गरिएको छ ।
मुल गुर्जु निलकाजी शाक्यको सभापतित्वमा हिजो भएको एक भेलाले उगु व्यवस्थापन समिति गठन गरेको हो । भेलामा नेपाल संवत् न्हूदँ समारोह समिति–११४३ का अध्यक्ष प्रा.डा. नरेशमान वज्राचार्य प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।
भेलाले नेवाः अभियन्ता सुजिव वज्राचार्यको संयोजकत्वमा समिति गरेको हो । समितिको उप–संयोजकमा सम्पदा अभियन्ता गणपति लाल श्रेष्ठ रहनुभएको छ ।
भेलामा प्रहरी नायब उपरिक्षक भेषराज रिजाल लगायत बिगतदेखि जात्रा व्यवस्थापनमा योगदान दिनुहुने अग्रज एवं स्थानीय संघ–संस्था र क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
भेलाले मूल समितिका संयोजक, उपसंयोजक लगायत उमेश स्थापित, सत्य नारायण डंगोल, मचाराजा महर्जन, अमृत ताम्राकार, ज्योती शाक्य आदि रहेको सचिवालय पनि गठन गरेको छ ।
त्यस्तै विभिन्न कार्यको समन्वय गर्ने जिम्मेवारी पनि विभिन्न व्यक्तिहरूलाई दिने निर्णय गरेको छ ।
यस क्रममा जात्रामा शान्ति सुरक्षा तथा ट्राफिक प्रहरी समन्वय रवि तण्डुकार, स्वयमसेवक परिचालन समन्वय मच्छिन्द्र क्लबका दिपेश महर्जन, राजेश मानन्धर, केयुर मान सिंह र अमृत महर्जनलाई दिइएको छ ।
पहिलो दिन तिनधारा पाठशालादेखि रानीपोखरीस्थित प्रहरी आयुक्तको कार्यालयसम्म महिला समेत सहभागी भई रथ तान्ने व्यवस्था गरिएको छ भने यो कार्यको समन्वय गर्ने जिम्मेवारी नानिहिरा महर्जन र मिरा महर्जन ताम्राकारलाई दिइएको छ ।
भेलाले महानगर प्रहरी, नेपाल स्काउट, रथ निर्माण अनुगमन, नेपाल रेडक्रस, रुट निरीक्षण, रथमा बत्ती व्यवस्थापन, बाजागाजा, फूल सजावट, विपद् व्यवस्थापन, आर्थिक व्यवस्थापन, घःमाः व्यवस्थापन आदि कार्यको समन्वय गर्ने जिम्मेवारी पनि विभिन्न व्यक्तिहरूलाई दिइएको छ ।
सेतो मत्स्येन्द्रनाथको रथयात्रा आउँदो चैत्र १५ गतेदेखि सञ्चालन हुँदैछ ।