उपराष्ट्रपतिमा महिलाकाे उम्मेदवारी मात्र दर्ता गर्न आयोगको निर्देशन

काठमाडाैं, २६ फागुन । चैत ५ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदवारको मात्र मनोनयन दर्ता गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

आयोगकाे शुक्रबार बसेको बैठकले खस-आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नहुने बताए।

‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने भन्ने कुरा संविधानमा लेखिएको छ। आयोगले त्यसै अनुसार निर्देशन दिएको हो,’ थपलियाले भने,‘हिजो रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले खस-आर्य समुदायका महिलाले पनि उम्मेदवारी दिन पाउनु हुन्न।’

उपराष्ट्रपतिका लागि भाेली २७ गते शनिबार मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकाे छ ।  निर्वाचन चैत ३ गते हुनेछ ।