आर्थिक वर्षको अन्त्यसम्ममा सबै वडामा वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना हुन्छः उपमेयर डंगोल

काठमाडौ, २९, फागुन । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आर्थिक वर्षको अन्त्यसम्ममा सबै वडामा वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गरिसक्ने बताउनु भएको छ । आज वडा नं. ३२ को अवलोकनपछि उपप्रमुख एवं न्यायिक समितिकी संयोजक डंगोलले यस्तो बताउनु भएको हो । उहाँले अवलोकनका सिलसिलामा विभिन्न खाले समस्या देखिएको भन्दै ती सबै समस्यालाई समाधान गरेर आर्थिक वर्षको अन्त्यसम्ममा सबै वडामा मेलमिलाप केन्द्र स्थापना हुने बताउनु भयो ।

‘वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना तथा सञ्चालनका लागि ठाउँ उपलब्धताका कोणबाट ५ प्रकारको अवस्था पाइयो,’ उहाँले भन्नुभयो, ‘कतै अहिलेदेखि नै तोकिएको मापदण्ड पूरा भएका केन्द्र चलाउन सकिने अवस्था छ । कतै वडा चलेको भवनमा त छैनछैन, भाडामा लिन समेत नपाउने समस्या छ । ठाउँ उपलब्धताका यस्ता समस्या र चुनौति सामना गरेर यो आर्थिक वर्षको अन्त्यसम्ममा सबै वडामा केन्द्र सञ्चालन हुनेछन् ।’

स्थान उपलब्धतामा विविधता भए पनि केन्द्र सञ्चालन सम्बन्धी जनप्रतिनिधि र कर्मचारीमा समान बुझाइ रहेको उहाँले बताउनुभयो । ‘यो सकारात्मक पक्ष हो,’ डंगोलले भन्नुभयो, ‘क्षमता विकास गर्नुपर्ने सहित केही स्वभाविक माग आएका छन् । यसको व्यवस्थापन गरेर केन्द्र सञ्चालनमा ल्याउँछौँ ।’

वडा नंं ३२ को निरीक्षणसँगै सबै वडाका बस्तुगत अवस्था अवलोकन सकिएको छ । अवलोकनपछि वडा वडामा मेलमिलाप केन्द्र स्थापना हुनेमा बढी आशावादी भएको न्यायिक समितिका सदस्य एवं वडा २९ का अध्यक्ष कुश ढकालले प्रतिक्रिया दिनुभयो ।

मेलमिलाप केन्द्र सञ्चालन गर्न स्थानीय सरकार सञ्चालन ऐनसँगै महानगरपालिका आफैँले जारी गरेका विवाद निरुपण कार्यविधि, महिला सञ्जाल सञ्चालन कार्यविधि, घर बहाल व्यवस्था निर्देशिका, मेलमिलाप केन्द्र सञ्चालन निर्देशिकाले दिएको अधिकार प्रयोग गर्न सकिन्छ ।

कानुनी प्रबन्धका विषयमा कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य भन्नुहुन्छ, ‘कानुन बमोजिम हामीले ३ महिनाभित्र विवादको टुङ्गो लगाइसक्नु पर्छ । पहिलो महिना पक्षलाई झिकाउने हाजिर गराउने, दोस्रो महिनामा मेलमिलाप गराउने काम गर्नुपर्छ । यदि मेलमिलाप भएन भने त्यसपछि निर्णय प्रक्रियामा लगेर तेस्रो महिनामा टुङ्ग्याउने गरी समय विभाजन भएको छ ।’