चितवनमा पाटेबाघ मृतावस्थामा फेला

चितवन, ५ चैत्र । चितवनको कालिका नगरपालिका–७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मृतावस्थामा फेलापरेकाे छ ।
सो संरक्षित क्षेत्रको केउरेनी घोलमा शनिबार दिउँसो पाटेबाघ मृत भेटिएको हो ।
जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार अन्दाजी छ वर्षको भाले बाघ खानामा विष परेकाले मरेको हुनसक्ने अनुमान छ ।
शनिबारै शव परीक्षण गरेर बाघको नमूना परीक्षण सुरु गरिएको छ । बाघको मुख र मलद्वारमा सेतो फिँज र पेटमा बाख्राको अङ्ग भेटिएको उनले जानकारी दिए ।
यस वर्ष राष्ट्रिय वन क्षेत्रमा बाघ मरेको पहिलो घटना हो । गत वर्ष वन क्षेत्रमा बाघ मरेको थिएन । जिल्लाको राष्ट्रिय वन क्षेत्रमा १२ देखि १४ बाघ रहेको अनुमान छ ।