सहरका शैक्षिक संस्थाभन्दा कम छैन बागलुङको शान्ति मावि

बागलुङ, १२ चैत्र । बागलुङस्थित भौगोलिकरूपमा निकै विकटमा रहेको खुङ्खानीगाउँकाे सबैभन्दा दूरको गाउँ खुङ्खानीमा रहेकाे शान्ति माध्यमिक विद्यालय ठूला सहरका शैक्षिक संस्थाभन्दा कम छैन ।

तमानखोला गाउँपालिका–५ मा पर्ने खुङ्खानी गाउँमा रहेकाे शान्ति माध्यमिक विद्यालयले भौतिक संरचनामा मात्रै होइन, शैक्षिक गुणस्तरमा पनि विद्यालयले फड्को मारेको हाे ।

पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र भिरपहारा छिचोल्दै पुग्नु पर्छ विद्यालय । छेउमै चिटिक्क रङरोगन गरेर सिङ्घारिएका केही भवन देखिन्छन् । भवन वरिपरि घेराबारले लगाएर सुरक्षित गरिएको छ ।

आधा दशक अगाडिसम्म जीर्ण भवन, खानेपानी र शौचालयको अभावमा गुज्रिएको यस विद्यालयले अहिले मुहार फेरेको छ । भौतिक संरचनामा मात्रै होइन, शैक्षिक गुणस्तरमा पनि विद्यालयले फड्को मारेको छ । केही वर्ष पहिलेसम्म विद्यार्थी धुलोमै बसेर पढ्ने गर्थे । पर्याप्त डेक्स– बेन्च थिएनन् । खानेपानी र शौचालयको अवस्था पनि उस्तै थियो । जब स्थानीय सरकार आयो, तब शान्ति माविको स्वरुप नै परिवर्तन भएको छ ।

गाउँको विद्यालय भए पनि यहाँ डिजिटल माध्यमबाट पढाइ हुन थालेको छ । प्रविधिमैत्री शिक्षा अवलम्बन गरेको विद्यालय जिल्लाकै नमूना बनेको छ । भौगोलिक विकटताका कारण विभिन्न समस्या झल्दै आएको शान्ति मावि अहिले बजारका विद्यालयका लागि पनि प्रेरणाको स्रोत बनेको छ ।

जिल्ला सदरमुकाम नजिकै रहेका कतिपय सामुदायिक विद्यालयमा अहिले पनि डिजिटल माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप हुँदैनन्, तर यहाँ अघिल्लो वर्षदेखि नै ‘पेपरलेस’ पढनपाठन सुरु गरेको विद्यालयका प्रधानाध्यापक सत्यनारायण सिंहले बताए ।

सिंहले पछिल्लो आधा दशकमा विद्यालयले भौतिक संरचना र शैक्षिक गुणस्तरमा धेरै सुधार गरेको बताए । उनले अहिले आफूहरूले समयानुसार प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखेर पठनपाठन सुरु गरेको बताए । उनले पाँच वर्ष अगाडिसम्म विद्यालय भौतिक, शैक्षिक र अन्य प्राविधिकरूपमा कमजोर रहेको सुनाउँदै अहिले अब्बल बन्न थालेको बताए । कक्षा १–५ स्थानीय पाठ्यक्रम लागू गरेको र कक्षा ६–१० डिजिटल माध्यमबाट पठनपाठन हुने गरेको प्रधानाध्यापक सिंहको भनाइ छ ।

“आजभन्दा पाँच–सात वर्ष अगाडि विद्यालयको अवस्था निकै दयनीय थियो, कक्षाकोठा नपुग्दा बालबालिकालाई भुइँमै राखेर पढाउनुपथ्र्यो, पूर्वाधार जीर्ण थिए, विद्यालय घेराबार थिएन, असुरक्षित थियो” प्रधानाध्यापक सिंहले भने, “अहिले विद्यालयमा धेरै संरचना बने, शैक्षिक गुणस्तर पनि राम्रो भएको छ, अब हाम्रो ध्येय भनेको शैक्षिक गुणस्तरलाई बढाउनु हो, हामी सोहीअनुसार लागिरहेका छौँ, अहिले पनि धेरै सुधार गरेका छौँ ।”

पूर्वाधारमा सम्पन्न भएसँगै विद्यालयले शैक्षिक गुणस्तरलाई पनि बढाएको छ भने विद्यार्थी सङ्ख्या पनि बढेको छ । पहिले ४० प्रतिशतमात्रै शैक्षिक प्रगति गरेको विद्यालयले अहिले ८० प्रतिशत बढी उपलब्धि हासिल गर्न थालेको प्रअ सिंहले बताए ।

पहिले दुई सय विद्यार्थी हुने गरेकामा अहिले करिब साढे तीन सय विद्यालर्थीले अध्ययन गरिरहेको उनको भनाइ छ । विद्यालयप्रति समुदाय र अभिभावकको भरोसा बढेपछि विद्यार्थीको आकर्षण बढेको उनले जानकारी दिए ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले विद्यालय विकटमा रहेर पनि छुट्टै पहिचान बनाउन सफल भएको बताए । गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी गरेको जनाउँदै लगानीअनुसार शान्ति माविले प्रतिफल दिन थालेको उनको भनाइ छ । अध्यक्ष बुढामगरले पहिलो कार्यकालको सुरुआतदेखि नै शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै अहिले पनि पालिकाका थुप्रै विद्यालयमा सुधार गरिरहेको बताए ।

कक्षा १० सम्म पढाइ हुने यस विद्यालय विसं २०२१ मा स्थापना भएको थियो । विसं २०४२ देखि निम्नमाध्यमिक र २०६४ बाट माध्यमिक तह पढाइ हुँदै आएको छ । यहाँ १० कक्षासम्म पढाइ सकेर उच्च शिक्षाका लागि विद्यार्थी पालिकाको केन्द्र रहेको बोङ्गादोभानस्थित जनजागृति माध्यमिक विद्यालयमा पुग्नुपर्छ ।

वर्षौँदेखि घन्टौँ हिँडेर माध्यमिक शिक्षा हासिल गर्दै आएका नर्जाखानी क्षेत्रका विद्यार्थीले अब छात्रबासमै बसेर माध्यमिक तहको पढाइ गर्न पाउने भएका छन् । शान्ति माविमा छात्राबास सञ्चालनका लागि चालु आर्थिक वर्षमा तमानखोला गाउँपालिकाले रु दुई लाख ५० हजार विनियोजन गरेको प्रधानाध्यापक सत्यनारायण सिंहले बताए ।

तमानखोला गाउँपालिका–६ नर्जाखानी, पात्ले, भित्रीवनलगायतका गाउँबाट विद्यार्थी दैनिक छ घण्टा हिँडेर माध्यमिक तहको अध्ययन गर्दै आएका छन् । वडा नं ६ का दर्जनौँ विद्यार्थी आधारभूत तहको पढाइ विष्णु आधारभूत विद्यालय नर्जाखानीमा सकेपछि उनीहरू शान्ति माध्यमिक विद्यालयमा पुग्नुपर्छ । नर्जाखानीबाट शान्ति मावि खुङ्खानी पुग्न तीन घन्टा बढी लाग्छ ।

नर्जाखानीबाट आएर कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीका लागि आवासीय सुविधा दिने भएको उनको भनाइ छ ।

प्रधानाध्यापक सिंहले भने, “यहाँका विद्यार्थीलाई निकै समस्या थियो, दैनिक छ घन्टा पूरै हिँड्नुपथ्र्यो, हिँडाइको थकाइले गर्दा उनीहरूमा पढाइप्रति रुचि कम हुने गरेको पाइयो, त्यसले गर्दा यस वर्षबाट छात्रबासमा राखेर पढाउन थालेका छौँ, यस वर्ष छोटो समय राख्यौँ, आगामी वर्षदेखि थप व्यवस्थापनका साथ विद्यार्थीलाई सहज हुने गरी पठनपाठन गराउँछौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *