राहदानी विभागको टोली नेपालीलाई राहदानी दिन पोर्चुगलमा

काठमाडाैं, १६ चैत्र । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी दिनका लागि राहदानी विभाग काठमाडौंको टोली पोर्चुगल पुगेको छ ।

विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोली बुधबार राजधानी लिस्बन पुगेको हो ।

नेपाली राजदूतावास पेरिस, फ्रान्सका प्रतिनिधिले बुधबारबाटै राहदानी सेवा दिन सुरु गरेको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनको आन्जुसबाट राहदानी सेवा सुरु गरेको हो ।

बुधबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएका गरी १७ जनाको दरखास्त सङ्कलन गरिएको टोलीका सदस्य एवं नेपाली दूतावास पेरिस, फ्रान्सका तृतीय सचिव दीपेन्द्रप्रसाद साहले जानकारी दिए ।

टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।

झण्डै एक महिनासम्म सञ्चालन हुने राहदानी सेवा शिविरबाट पाँच हजारभन्दा बढी नेपालीले सेवा लिने अनुमान गरिएको छ । टोलीले आगामी अप्रिल २५ सम्म शनिबारबाहेकका दिन राहदानीलगायत सेवा प्रवाह गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *