रसुवा भन्सारहुँदै पन्ध्र करोडको नेपाली सामग्री चीन निर्यात
काठमाडाैं, २१ चैत्र ।बाँसबाट बनेका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात हुनथालेकाे छ ।
केही समय अगाडिबाट निकासी खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन् ।
चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म सक्रिय रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार १५ करोड बराबरको नेपाली सामग्री चीनको केरुङतर्फ निर्यात भइसकेको छ ।
निर्यात भएका सामग्रीमा बाँसका मुढा, कपडा, कार्पेट, भाँडाकुँडा, हातेकागज, हस्तकलाका सामग्रीहरू छन् । उक्त सामग्रीमध्ये बाँसको मुढा मात्रै साढे तीन करोड मूल्य बराबर निकासी भएको प्रमुख भन्सार अधिकृत भण्डारीले जानकारी दिए ।
यस्तै, आयात तथा निर्यात वस्तुको शुल्कबाट रसुवा भन्सार कार्यालय रसुवाले चालू आवको आठ महिनामा रु चार अर्ब १८ करोड राजस्व आर्जन गरेको छ । आयात कमी हुँदा सामानका शुल्क बापतको राजस्व कमी भएको र अबका दिनमा केरुङबाट काठमाडौँसम्म नेपाली कन्टेनर सिधा आवतजावतको वातावरणले आयात सामग्रीको परिमाण बढ्न गई राजस्व बढ्ने आशा गरीएको छ ।
