विदेशमा ज्यान गुमाएका नेपालीको बिमा रकम ठगी गर्ने गिरोह पक्राउ
काठमाडाैं, २४ चैत्र । विदेशमा ज्यान गुमाएका नेपालीहरूकाे बिमा रकममा ठगी गर्ने एक गिरोह पक्राउ परेका छन् ।
उनीहरूले परिवारलाई बिमावापतको रकम उपलब्ध गराइदिन्छु भन्दै आधा रकम ठग्दै आएका ६ जनाकाे गिरोह पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन्। उनीहरूलाई बिहीबार काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको हो।
उनीहरुले वैदेशिक रोजगारीमा गई मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार गिरोहका सदस्यहरू विदेशमा मृत्यु भएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्थे र बिमाको रकम उपलब्ध गराइदिने आश्वासन दिन्थे।
त्यसबापत उनीहरुले प्रति मृतक ७ लाखसम्म ठगी गरेको खुलेको छ । यसबारे अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि विशेष अनुसन्धान टोलीले उनीहरूको खोजतलास थालेको थियो ।
गिरोहसँग वैदेशिक रोजगार विभागका सुब्बा पशुपति अधिकारीकाे पनि मिलेमत्ताे रहेकाे अनुसन्धानबाट खुलेकाे छ । अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।