पोखराको महेन्द्रपुलमा स्मार्ट सार्वजनिक शौचालय बनाइने
कास्की, २८ चैत्र । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सुरु भएको छ ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले सार्वजनिक शौचालय बनाउन पोखरा महानगरसँग साझेदारी गरेको हो । महानगर प्रमुख धनराज आचार्यले सार्वजनिक शौचालय निर्माणको सोमबार शिलान्यास गर्नुभयो ।
महेन्द्रपुलको उत्तरतर्फ रहेको पाँच आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माण हुनेछ ।
यसमा एनआरएनएले रु ६० लाख र पोखरा महानगरपालिकाले रु ४० लाख लगानी गर्नेछन् । महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालय छन् ।
महेन्द्रपुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माणको तयारी गरेको छ । त्यसको शिलान्यास आगामी वैशाख १ गते गरिनेछ । त्यहाँ संयुक्त राष्ट्र सङ्घमा आवद्ध एक सय ९३ देशसहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको झन्डासमेत राखिने महानगरले जनाएको छ ।
पार्ककोबीच भागमा नेपालको सबैभन्दा ठुलो झन्डा राखिनेछ । विशेष अवसरमा झण्डात्तोलनका लागि सोही स्थानमा कार्यक्रम गरिने बताइन्छ ।
शौचालयको शिलान्यास गर्दै प्रमुख आचार्यले पोखराको पर्यटन प्रवर्द्धन तथा नागरिकको सेवाका लागि सो स्थानमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरिएको बताउनुभयो ।
जीर्ण भवन विस्थापित गरी जनतालाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले चमेना गृहसहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हाे । शौचालय महिला दिदीबहिनीका लागि स्तनपान कक्ष र सेनेटरी प्याडको भण्डारसमेत समावेश हुनेछ ।
शौचालयबाट निकाल्न सकिने ग्यासको प्रयोगबाट चमेनागृह सञ्चालन गरिने छ । त्यो नेपाली शैलीको हुने प्रमुख आचार्यको भनाइ छ । आसपासमा केही चौतारी निर्माण गरिनेछन् । अधिकांश स्थान भने खुल्ला नै राखिने प्रमुख आचार्यले बताउनुभयो ।
