संविधानको मर्मअनुसार स्थानीय तह र प्रदेशसभा निर्वाचन गरिने आयोगको स्पष्टोक्ति

काठमाडौँ, मङ्सिर ४ ।  निर्वाचन आयोगले संविधान र कानुनको मर्म तथा व्यवस्थाअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन गरिने स्पष्ट पारेको छ । आगामी निर्वाचनको सम्भावित मिति र तयारीका विषयमा निर्वाचन आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको हो ।

छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै समयमा गर्नुपर्ने तथा सम्बन्धित तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्थाबारे परामर्श भएको जानकारी दिनुभयो । छलफलमा सहभागी दलका शीर्ष नेताहरूले आन्तरिक छलफलपछि निर्वाचनको मिति र तयारीका विषयमा आयोग तथा सरकारलाई ठोस सुझाव दिने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।

प्रवक्ता भट्टराईका अनुसार आयोगले योग्य मतदाता कोही पनि मतदाता नामावलीमा छुट्न नहुने र एउटै मतदाताको नाम दोहोरिन नहुने विषयलाई प्राथमिकतामा राखेको छ । यस क्रममा आयोगले मतदाता नामावली व्यवस्थापनमा गरेका सुधार तथा आगामी योजनाबारे राजनीतिक दलका नेताहरूलाई जानकारी गराएको थियो ।

उहाँले मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्रसँग अन्तरसम्बन्धित गराइएको जानकारी दिँदै नामावलीलाई थप व्यवस्थित, अद्यावधिक र त्रुटिरहित बनाउने काम अघि बढाइएको बताउनुभयो ।

छलफलमा देशको कुल जनसङ्ख्यामा महिलाको सङ्ख्या बढी भए पनि मतदाता नामावलीमा पुरुष मतदाताको सङ्ख्या बढी देखिएको विषयसमेत उठाइएको थियो । मतदाता नामावलीमा देखिएको लैङ्गिक असन्तुलनका कारण र त्यसको सुधारका उपायबारे पनि दलका नेताहरूलाई जानकारी गराइएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

आयोगले आगामी निर्वाचनलाई व्यवस्थित, विश्वसनीय र संविधानसम्मत बनाउन मतदाता नामावलीको शुद्धीकरण तथा निर्वाचन तयारीका विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *