स्थानीय तहका जनप्रतिनिधिलाई महासचिव पोखरेलको निर्देशन : जनताको आलोचना होइन, विश्वास जित्नुहोस्

काठमाडौँ, ४ मङ्सिर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई जनताको आलोचना गर्नेभन्दा उनीहरूको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभएको छ।

पार्टीका स्थानीय तहका जनप्रतिनिधिको भेलालाई आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले निर्वाचनका बेला जनतासँग देखाएको विनम्रता चुनाव जितेपछि पनि कायम राख्न आग्रह गर्नुभयो।

जनताले गल्ती गरे भन्दै होच्याउने वा गाली गर्ने नभई उनीहरूलाई सम्झाउने र सही बाटो देखाउने जिम्मेवारी जनप्रतिनिधिकै भएको उहाँले बताउनुभयो।

‘जनताले गल्ती गरे भनेर गाली गर्ने होइन, उनीहरूलाई सम्झाउने जिम्मेवारी हाम्रो हो,’ उहाँले भन्नुभयो, ‘जनतालाई सम्झाउनुहोस्, उनीहरूसँग नजिक हुनुहोस् र आगामी निर्वाचन जित्ने वातावरण बनाउनुहोस्।’

महासचिव पोखरेलले जनप्रतिनिधिहरूले जनअपेक्षाअनुसार काम गरे वा नगरेको मूल्याङ्कन आगामी निर्वाचनबाट हुने बताउनुभयो। आफ्नै पार्टीका जनप्रतिनिधिलाई पुनः जिम्मेवारी दिएमा उनीहरूले जनताको अपेक्षाअनुसार काम गरेको पुष्टि हुने उहाँको भनाइ थियो।

उहाँले एमालेका जनप्रतिनिधिले स्थानीय तहमा सुशासनको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो। साथै, प्रदेश राजधानी रहेका स्थानीय तहका जनप्रतिनिधिलाई प्रदेश सरकारले गरेका कामको समेत निगरानी गर्न आग्रह गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *