नेपालगञ्जमा रगत अभाव कायमै, दैनिक ८० पिन्टसम्म माग
बाँके, ४ मङ्सिर। चाडपर्वका अवसरमा परेको लामो बिदाका कारण बाँकेको नेपालगञ्जमा रगतको अभाव कायमै रहेको छ। अस्पतालमा रगतको माग उच्च भए पनि रक्तदान कार्यक्रम पर्याप्त नहुँदा मौज्दात घट्दै गएको हो।
नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीका अनुसार नेपालगञ्जका अस्पतालमा मात्रै दैनिक ७० देखि ८० पिन्ट रगतको माग हुने गरेको छ। तर मागअनुसार रगत सङ्कलन हुन नसकेको उहाँले बताउनुभयो।
केन्द्रले लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका बिरामीलाई समेत रगत उपलब्ध गराउनुपर्ने भएकाले नियमित तथा संस्थागत रक्तदान कार्यक्रम आवश्यक रहेको रेग्मीको भनाइ छ।
केन्द्रले खजुरा र कोहलपुरस्थित शाखाबाट समेत रगत सङ्कलन गर्दै आएको छ। कोहलपुरका आठ अस्पतालमा दैनिक २० देखि २५ पिन्ट र खजुराका दुई अस्पतालमा १० देखि १२ पिन्ट रगतको माग हुने गरेको छ। नेपालगञ्जका २७ अस्पतालमा भने दैनिक करिब ८० पिन्ट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ।
नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्द्धन सम्झनाले विभिन्न माध्यमबाट रक्तदान भइरहेको र आवश्यकताअनुसार रगत सट्टापट्टा गर्ने व्यवस्थाले पनि अभाव व्यवस्थापनमा सहयोग पुगेको बताउनुभयो। आवश्यक परेको अवस्थामा स्वयंसेवी रक्तदातामार्फत रगत उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ।
४५ पटकसम्म रक्तदान गरिसक्नुभएका नेपालगञ्ज–९ निवासी झविन्द्र शर्माले रगत लिनेले पनि अरूका लागि रक्तदान गर्नुपर्छ भन्ने भावना विकास गर्नुपर्ने बताउनुभयो। जन्मदिन तथा वैवाहिक उत्सवका अवसरमा रक्तदान गर्ने प्रचलन बढ्दै गएको उल्लेख गर्दै उहाँले स्थानीय सरकारले वर्षमा कम्तीमा दुई पटक रक्तदान कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
रक्तसञ्चार केन्द्रले रगतको अभाव कम गर्न नियमित र संस्थागत रक्तदान कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको छ।
