बैतडीमा जिप दुर्घटना : बझाङका एकैगाउँका छजनाको घटनास्थलमै मृत्यु
बैतडी, २९ चैत्र । जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेकमा जिप दुर्घटना भएकाे छ ।
उक्त जिप दुर्घटनामा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको एकै गाउँका छ जना रहेका छन् ।
मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन् ।
झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नंको जिप मङ्गलबार राति ११ बजे दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएका छन् । बाह्र जना सवार जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो ।
जिप चालक फरार छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।