मेलम्ची नगरपालिकाकाे दुवाचौर बालमैत्री वडा घोषणा

सिन्धुपाल्चाेक, ३० चैत्र । सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरलाई बालमैत्री वडा घोषणा गरिएको छ ।

उक्त वडालाई बुधबार एक कार्यक्रमका बीच बालमैत्री वडा घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासनका आधारभूत सूचकहरु पूरा गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष पासाङ तामाङले जानकारी दिनुभयो ।

बालबालिका मैत्री वडा हुन् बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्मदर्तालगायतका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिअनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ५१ वटा सूचक पूरा गर्नुपर्ने उल्लेख छ । यो वडा जिल्लाको दोस्रो तथा मेलम्चीको पहिलो बालमैत्री वडाको रुपमा घोषणा भएको वडा सचिव इश्वरीप्रसाद तिमल्सिनालले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बालमैत्री वडा घोषणा गर्नु निकै सरहानीय कार्य भएको बताउँदै नगरको पहिलो वडा बालमैत्री वडाको रुपमा घोषणा हुनु गर्वको विषय भएकाे बताए ।

उहाँले क्रमस ५ र ८ र सबै १३ वटै वडा बालमैत्री वडा घोषणा गरिने बताउनुभयो । नगर उपप्रमुख उमा प्रधानले २०७९ मा वडा बालमैत्री घोषणा सुरुवात गर्ने उदेश्य पूरा भएको बताउदै अन्य वडा पनि क्रमशः घोषणा गरिने बताउनुभयो ।

मेलम्चीको ५ र ८ लाई पनि चाडैं बालमैत्री वडा घोषणा गरिने यसकालागी सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले अविभावक लगायत सबैको सहयोगले मात्र कार्यक्रम दिगो हुने बताउदै नगरले बालबालिकाको क्षेत्रमा ध्यानदिएर बजेट निर्माण तथा कार्यक्रम ल्याउने बताउनुभयो ।

कार्यक्रममा पुर्व जिल्ला समन्वय समिती प्रमुख कृष्णगोपाल तामाङ, मेलम्ची नगरलालिकाकी पुर्व उपप्रमुख भगवती नेपाल, ज्योती भञ्ज्याङ् आधारभुत विद्यालयका प्रधानाध्यापक धिरज श्रेष्ठ लगायतले बालमैत्री वडा बनाउन सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्दै कार्यान्वयनमा सबैको सहयोगको आवश्यकता औल्याउँनुभयो ।

यस अघि जिल्लाको चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर १३ बालमैत्री घोषणा गरिएको थियो भने यो वडा जिल्लाको दोस्रो तथा नगरको पहिलो वडा रहेको छ ।