१२ आंगिक क्याम्पसमा हुनसकेन स्ववियु निर्वाचन, वैशाख ५ गतेबाट समितिकाे म्याद सकिंदै

काठमाडौं, ४ वैशाख । त्रिभुवन विश्वविद्यालय अन्तरगत काठमाडौं उपत्यकाका चारलगाएत १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेकाे छैन ।

त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सबै क्याम्पसमा स्ववियु चुनाव गर्ने निर्णय गरेको थियो । उक्त म्याद भाेली मंगलबार सकिने भएकाे हाे ।

उपत्यकाका नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र, रत्नराज्य,विश्वभाषा क्याम्पस र उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरालगायतका ८ वटा आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन नसकेको हाे ।

क्याम्पसका विद्यार्थी संगठनहरुबीचको आपसी द्वन्द्वले निर्वाचन कार्यालयमा ताला लगाउने लगायतका कारण स्थगित हुँदै आएका यी क्याम्पसहरुमा अब स्ववियु निर्वाचन नहुने त्रिवि स्ववियु निर्वाचन समितिका सदस्य सचिव डा. पशुपति अधिकारीले जानकारी दिनुभयाे ।

डा.अधिकारीले भन्नुभयाे, ‘अब चुनाव अवधि एक दिन बाँकी छ । विद्यार्थी संगठनहरुबीच सहमति हुन सकेको छैन । त्यसैले अब सम्भावना सकियो । अब चुनाव हुँदैन । त्रिविले परीक्षा, भर्ना गर्नुपर्छ । सधैंभर निर्वाचन गराएर मात्रै त हुँदैन ।’

वैशाख ५ गतेबाट निर्वाचन समिति स्वतः अवैध हुने भएकाले त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृत पिताम्बर पन्तसहित समितिका सबैले चैत ३० गते नै सामूहिक राजीनामा बुझाइसकेका छन् ।

निर्वाचन निर्देशिका अनुसार ‘चैत ५ गते निर्वाचन हुन नसकेका क्याम्पसहरुको हकमा क्याम्पस प्रशासनले अर्को सूचना जारी गरेर ३० दिनभित्र निर्वाचन गरिसक्नुपर्ने’ भन्ने निर्देशन दिएकाे थियाे । साे काे म्याद वैशाख ५ गतेसम्म थियाे ।