काठमाडौँसहित देशभर तीन दिनसम्म वायु प्रदूषण रहने

काठमाडाैं, ४ वैशाख । काठमाडाैं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ । केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको हाे ।

प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डढेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाको भनाइ छ । वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले डढेलोबाट निस्किएको धुवाँसँगै पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको बताउनुभयो ।

उहाँले स्याटेलाइट तस्बिर हेर्दा काठमाडाैं उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको जानकारी दिनुभयो । बारा, पर्सा र चितवनबाट बागमती कोरिडोर हुँदै काठमाडाैं आएको हावा अन्यत्र बहन नसक्दा उपत्यकामा प्रदूषणको मात्रा बढेको हो ।

प्रदूषणबाट जोगिन सावधानी अपनाउन तथा वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्क र चस्माको अनिवार्य प्रयोग गर्न विभागले आग्रह गरेको छ । जलवायु तथा विपद्विज्ञ डा धर्म उप्रेतीले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने र अत्यावश्यक काम नभई घरबाट बाहिर निस्कन नहुने बताउनुभयो ।

वायु प्रदूषणका कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सर लगायतका समस्याहरु बढ्ने भएकाले सावधानी अपनाउनसमेत वातावरण विभागका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । प्रदूषित हावाका कारण देशैभर हवाई उडानसमेत प्रभावित बन्दै गएको छ ।

आइतबार गरिएको हावाको गुणस्तर मापक सूचक आइक्युएयर अनुसार काठमाडाैं उपत्यकाकाे वायु प्रदूषण विश्वभरमा पहिलो सूचीमा थियोे ।

पानी नपरेको खण्डमा वा तीव्र गतिको हावा नचलेमा उपत्यकासहित देशभरको वायु प्रदूषण नघट्ने र अझै केही दिन प्रदूषण कायमै रही जोखिम बढ्दै जाने वातावरण विभागका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

वायु प्रदूषणको मात्रा नाप्ने आइक्युएयरका अनुसार आइतबार भक्तपुर र ललितपुरको पाटनमा बढी वायु प्रदूषण थियो । यी ठाउँमा हावाको गुणस्तर मापन सूचक आइक्युएयर दुई सयभन्दा माथि थियो ।

यसैगरी, कीर्तिपुर, रत्नपार्क, मध्यपुर थिमि, हेटौँडा र धनकुटाको हावा पनि अस्वस्थकर थियो । यी क्षेत्रमा हावाको गुणस्तर मापन सूचक आइक्युएयर झन्डै दुई सय पुगेको थियो । आइक्युएयर तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक मानिन्छ ।