मातातीर्थ मेलाका लागि सम्पूर्ण तयारी पूरा
काठमाडाैं, ४ वैशाख । आमाको मुख हेर्ने औँशीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।
यही वैशाख ७ गते बैशाख कृष्णपक्ष औँशीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ। मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेला सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर काम गरिएको बताउनुभयो ।
उहाँका अनुसार मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति बनाएर काम गरिएको छ ।
वैशाख ६ गते साँझ बत्ती बाल्ने र भोलिपल्ट औँशीका दिनमा आमाको मुख हेर्ने तथा स्नान गर्ने भएकाले अघिल्लो दिनदेखि नै सोही क्षेत्रमा मेला लाग्ने अध्यक्ष उदासले बताउनुभयो । यसपटक मेला भर्न पाँच लाखभन्दा बढी व्यक्तिले मेला भर्ने आयोजकको अनुमान छ ।
सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या समेत बढ्दै गएको छ । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँशीमा ठूलो मेला लाग्दै आएको छ ।
मातातीर्थमा पछिल्लो समय आमाको श्राद्ध गर्न आउनेको सङ्ख्या बढेको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताउनुभयो । संस्थाका अध्यक्ष उदासले आमालाई श्रद्धाभाव गरी पछिल्लो समय मातातीर्थ कुण्डको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या वृद्धि भएको बताउनुभयो ।
“दर्शनसँगै यहाँ वार्षिक श्राद्ध गर्न आउनेको सङ्ख्यासमेत बढ्दै गएको छ तर यहाँको विकासका लागि स्थानीय सरकार र केन्द्रीय सरकारले कुनै सहयोग नगरेको उहाँले गुनासो गर्नुभयो ।