मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे राप्रपा पनि सडक संघर्ष जान्छ : अध्यक्ष लिङ्देन
काठमाडाैं, ५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडितहरुकाे माग सम्बाेधन नभए सडक संघर्षमा जाने चेतावनी दिएकाे छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका अध्यक्ष लिङ्देनले काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितहरुबीच भएको झडपको भत्र्सना गर्दै यस्ताे बताएका हुन् ।
उहाँले भन्नुभयाे, गरिब र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना देखाएको पार्टी (नेकपा माओवादी केन्द्र) र उसको नेतृत्व प्रधानमन्त्री भएका बेला गरिब र निमुखाहरुमाथि बर्बर आक्रमण हुनु दुखद बिषय हाे । ‘सरकारले मिटरब्याज पीडितहरु र तराइमा आन्दोलनरत हरवाचरवाहरुको मागलाई समयमै सम्बोधन गरोस् । अन्यथा जिम्मेवार राजनीतिक पार्टीको नातो राप्रपा उनीहरुको साथमा सडक संघर्षमा जाने समेत घोषणा गर्न चाहन्छु ।’
उहाँले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग र हरवाचरवाहरुको मागलाई समयमै सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभएकाे छ ।