परीक्षा तत्काल सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीलाई अनेरास्ववियुको ज्ञापनपत्र

चितवन, ५ वैशाख । त्रिभुव विश्वविद्यालय अन्र्तरगतका अन्य क्याम्पसहरुमा तोकिएको परिक्षा तालिका अनुसार नै परीक्षा सञ्चालन भइरहेको भए पनि रामपुर क्याम्पसमा नेपाल विद्यार्थी संघले नीजि स्वार्थपूर्तिका लागि तालबन्दी गरेको भन्दै तत्काल खोजी परीक्षा सञ्चालनको वातावरण बनाउन अनेरास्ववियुले दवाव दिएको छ ।

अनेरास्ववियुका उपाध्यक्ष गोविन्द गिरीको नेतृत्वमा चितवन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले तालाबन्धी खोली परीक्षा सञ्चालनको वातावरण बनाउन माग गरेको हो ।

‘विद्यार्थीहरू अन्तिम परीक्षाबाट बञ्चित हुनुहुँदैन भन्दै हामीले तालबन्दीका कारण रोकिएका परीक्षाहरु सुचारू गरी विद्यार्थीहरूको हक अधिकार सुनिच्चित गर्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘रोकिएका परिक्षाहरू तत्काल संचालन गर्न शान्तिपूर्ण वातावरण निर्माण गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका छौँ । हाम्रो मागप्रति प्रशासन जिम्मेवारी भएन भने हामी आन्दोलन गर्न बाध्य हुनेछौँ ।’

ज्ञापनपत्र बुझाउन अनेरास्ववियु सचिव दिपक धामी, चितवन जिल्ला अध्यक्ष प्रकाश कालाखेती,रामपुर क्याम्पस खैरेनीका स्ववियु सभापति दिवस पौडेल उपसभापति चेतराज जोशी लगायतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।