निकुञ्जका कारण कञ्चनपुरमा ‘रेबिज’ को जोखिम बढ्दै

कञ्चनपुर, ८ वैशाख । कञ्चनपुरकाे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ ।

निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका हुन् । स्यालले घरपालुवा कुकुरलाई टोक्ने र स्यालले टोकेको कुकुर बहुलाएर स्थानीय बासिन्दासँगै घरपालुवा जनावरलाई टोक्दा रेबिज सर्ने गरेको जनाइएको छ ।

दैनिक कुकुरको टोकाइबाट रेबिज विरुद्धको सुई लगाउन अस्पताल जाने स्थानीय बासिन्दाको सङ्ख्या बढ्दै गएको छ । महाकाली अस्पतालका स्वास्थ्यकर्मीका अनुसार दैनिक रेबिजविरुद्धको सुई लगाउन आउने बिरामीको सङ्ख्या तीनदेखि पाँच जनासम्म हुने गरेको छ ।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेश जोशीका अनुसार हालसम्म रेबिजका २१ नमूना परीक्षण गरिएकामा तीमध्ये २० नमूनाको नतिजा पोजेटिभ आएको छ । प्रयोगशालामा आएका नमूनामध्ये अधिकांश कञ्चनपुर, कैलालीका रहेकाे जनाइएकाे छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं ३, १२, १३, पुर्नवास नगरपालिकाको वडा नं १, लालझाडी गाउँपालिकाको वडा नं ३, कृष्णपुर नरपालिकाको वडा नं १, शुक्लाफाँटा नगरपालिकाको वडा नं १० मा हालसम्म परीक्षण गरिएका नमूनामा रेबिजका जिवाणु फेला परेको छ ।

यसैगरी कैलालीको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकाबाट प्राप्त नमूनामा रेबिजका जिवाणु फेला परेको उहाँले बताउनुभयो । अधिकांश व्यक्तिमा रेबिज रोग कुकुरको टोकाइबाट सर्ने गरेको पाइएको छ ।

रेबिजका लक्षण देखिएका रोगीको उपचार सम्भव नहुने चिकित्सक जोशीको भनाइ छ । “यो रोग शतप्रतिशत प्राणघातक रोग हो”, उहाँले भन्नुभयो, “यसको भरपर्दो उपचार पद्धति अहिलेसम्म विकसित भएको छैन ।”

रेबिज रोकथाम गर्न पशु चिकित्सकको सिफारिसअनुसार घरपालुवा कुकुर र बिरालोलाई नियमित खोप लगाउने कार्य गर्नुपर्ने उहाँको सुझाव छ ।

“हिजोमात्रै कृष्णपुर नगरपालिकाको वडा नं २ मा मरेको स्यालको नमूना परीक्षण गर्दा रेबिजको सङ्क्रमण देखापरेको छ”, उहाँले भन्नुभयो, “पहिला कुकुरले टोकेरमात्रै रेबिज सरेको पाइने गरेको थियो, हाल बहुलाएको स्यालले स्थानीय बासिन्दाका गोठमा बाँधेका घरपालुवा जनावरलाई टोकेर रेबिज सार्ने गरेको पाइएको छ ।”

स्याललले घरपालुवा जनावरको मुखमै टोक्ने भएकाले रेबिज सर्ने सम्भावना शतप्रतिशत हुने गरेको छ ।