एसिसी प्रिमियर कप क्रिकेट

वर्षाका कारण एसिसी प्रिमियरको खेल रद्द, नेपाल सेमिफाइनल प्रवेश

काठमाडाैं, ११ वैशाख । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् ।

यससँगै नेपाल पाँच अङ्क जोड्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल तीन खेलमा दुईमा जित र एक खेलमा अङ्क बाँड्दै पाँच अङ्कका साथ समूह ए को शीर्ष स्थानमा छ ।

समूह ए मा नै रहेका ओमान समान तीन खेलबाट चार अङ्कसहित दोस्रो स्थानमा छ भने समान खेलबाट दुई अङ्क जोडेको मलेसिया तेस्रो स्थानमा छ ।

त्यस्तै साउदीअरब दुई अङ्कका साथ चौथो स्थानमा छ । कतारले भने अङ्क जोड्न सकेको छैन । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ ।