मुस्ताङमा चौँरीको आलो रगत पिउनेको भीड
मुस्ताङ, ११ वैशाख । मुस्ताङको थासाङ गाउँपालिका– २ बोक्सी खोलामा वैशाख आठ गतेदेखि सुरु भएको चौरीको आलो रगत पिउने मेलामा मानिसहरूकाे भीड लागेको छ ।
मेलामा याक र चौंरीबाट आलो रगत निकालेर पिउने मानिसको भीड बढेको हो । मेलामा मुस्ताङी भन्दा म्याग्दी, पोखरा, चितवन, नवलपरासी, तनहुँ, पर्वत, बुटवल, काठमाडौँबाट आउने धेरै छन् ।
रोग सञ्चो हुने विश्वासमा बच्चा, बिरामी, वृद्धसमेत बोक्सी खोलामा आएका स्थानीय गोविन्द शेरचनले जानकारी दिनुभयो । हिमाली खर्कमा चरेका चौँरीहरूले पाँचऔंले, निरमसी, जटामसी, यार्सागुम्बाजस्ता जडीबुटी खाने हुँदा त्यसको रगत सेवनले मानिसको पेटसम्बन्धी रोग निको हुने विश्वासले मानिस चौरीको आलो रगत पिउन आउने गरेका स्थानीयवासीले बताएका छन् ।
“पहिले यसलाई चौँरीको रगत पिउने मेला मात्र भनिन्थ्यो,अहिले मेलाको रुपमा मात्र नलिएर प्राकृतिक चिकित्सा र चौंरीको स्वास्थ्यसँग पनि जोडेर हेरिएको छ”, स्थानीय नरबहादुर हिराचनले भन्नुभयो ।
रगत निकाल्नाले चौंरी स्वस्थ हुने भएकाले वर्षमा दुई पटक चौरीको शरिरबाट रगत झिक्ने र मानिसले पिउने गरेको धौलागिरि चौँरीपालन समूहमा आवद्ध गोविन्द शेरचनले जानकारी दिनुभयो । एउटा वयस्क चौंरीबाट ३० गिलाससम्म रगत निकाल्न सकिने स्वंयसेवक बताउँछन् ।
हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसीलगायत जडीबुटी खाएका चौँरीगाईको रगत पिएमा ग्याष्टिक, कमलपित्त, सुन्नेको र छालासम्बन्धी रोगसमेत निको हुने विश्वास गरिन्छ ।
जिउँदो चौँरीलाई नियन्त्रणमा लिई तालिम प्राप्त रगत निकाल्ने व्यक्ति (स्थानीय भाषामा आम्जी) ले चौरीको घाँटीमा सुइरो (चापो) ले नशामा कोपेर रगत निकाल्ने गर्दछन् ।
रगत निकाली सकेपछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौँरीलाई छाडिन्छ । मुस्ताङमा पालिएका चौँरीको प्रत्येक वर्ष वैशाख र साउनमा गरी दुई पटकसम्म रगत पिउने मेला सञ्चालन हुँदै आएको छ ।