इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा, अन्य यथावत राखिने

काठमाडाैं, १४ वैशाख । इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।

इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले जानकारी दिनुभयो ।

“जुन प्रदेशको नाम लेखिएको थियो त्यो नेपालीमा हुन्छ । नम्बर प्लेटमा नेपालको झण्डा रहेको छ । त्यसले नेपालको सवारीसाधन भन्ने जनाइहाल्छ”, उहाँले भन्नुभयो । इम्बोस्ड नम्बर आपूर्ति गर्न बङ्गलादेशको कम्पनी टाइगर आइटीले जिम्मा पाएको छ ।

पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्नेगरी विसं २०७३ मा सम्झौता भएको थियो । सरकारले इम्बोस्डमा राख्ने भाषा टुङ्गो लगाए पनि प्राविधिक विषय मिलाउनुपर्ने भन्दै ठेकेदार कम्पनीले अझै नम्बर प्लेट छपाइ गरेको छैन ।

“नम्बर प्लेटमा देवनागरी लिपि राख्नका लागि उनीहरुको सिस्टममा परिवर्तन गर्नुपर्ने रहेछ”, इन्जिनियर थापाले भन्नुभयो, “उनीहरुले त्यसका लागि तयारी गर्दैछ । अब छिट्टै सुरु हुन्छ । हामीले सोहीअनुसार तयारी गर्न भनेर सम्बन्धितलाई निर्देशन दिएका छौँ ।”

विविआइएनअन्तर्गतका बङ्गलादेश, भूटान र भारतमा समेत नेपाली सवारीसाधन चल्ने र उनीहरुको उपकरणले नेपाली नम्बर प्लेटलाई बुझ्नसक्ने हुनुपर्ने भएकाले इम्बोस्ड नम्बरमा नेपाली र अङ्ग्रेजी भाषाको प्रयोग गरिएको उहाँको भनाइ थियो ।

सरकारले अङ्ग्रेजीमा इम्बोस्ड नम्बर छपाइ गर्न अनिवार्य गरेको भन्दै नेपाली भाषा बचाउ अभियन्ताले विरोध जनाउँदै आएका थिए । धेरै पटक सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुँदै आएको थियो । यसअघि इम्बोस्ड नम्बर अङ्ग्रेजीमा छपाइ हुँदै आएको थियो ।