ढोरपाटनमा हुन सकेन पाँच वर्षदेखि बँदेलको सिकार

बागलुङ, १५ वैशाख । बागलुङकाे ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पछिल्लो पाँच वर्षमा बँदेलको सिकार हुनसकेको छैन ।

वैधानिकरूपमा अनुमति लिएर बँदेलको सिकार गर्न पाइन्छ । तर आरक्षमा बँदेल सिकारीको रोजाइमा बँदेल नपरेकाे हाे ।

आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पुर्याउँदा हैरान छन् । बारीमा लगाएको आलु, फापर र तरकारीमात्रै होइन घरमा रहेका स–साना बालबालिका र वृद्धवृद्धा बँदेलको आक्रमणमा पर्लान् भन्ने त्रासमा बाँचेका छन् ।

सिकार आरक्षमा बँदेलको सङ्ख्या बढ्दो छ । नाउर, झारल, बँदेल, रतुवा र मृगको सिकार हुँदै आएको ढोरपाटनमा आर्थिक वर्ष २०७३/७४ पछि बँदेलको सिकार हुन नसकेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो ।

ढोरपाटनमा हरेक वर्ष असोज–कात्तिक र फागुन–वैशाखयाममा नाउर, झारल र बँदेल सिकारका लागि बोलपत्र आह्वान गरेर अनुमति दिइन्छ । हरेक वर्ष नाउर र झारलको सिकार भइरहे पनि बँदेलको सिकार शून्य रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।

ढोरपाटनमा गत आव २०७८/७९ देखि नाउर र झारलको सिकार गरे पनि बोनसको रूपमा बँदेलको सिकार गर्न रोक लगाएर छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट यस वर्षको दोस्रो सिजनमा १२ नाउर, नौ झारल र ११ बँदेलको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिए पनि बँदेलको सिकारका लागि सिकारीले इच्छा नदेखाएका हुन् ।

पहिले नाउर र झारलको सिकार गरेवापत बोनसका रूपमा रतुवा र बँदेल एक–एकवटा सिकार गर्न दिइने गरे पनि अहिले त्यसको व्यवस्था नभएको हिमालयन आउट फिटर्सका सञ्चालक अतुल खड्काले बताउनुभयो ।

सञ्चालक खड्काले नेपालीका लागि सिकार गर्न विभागले सहज वातावरण बनाइदिनुपर्ने बताउनुभयो । प्रक्रिया नबुझेर पनि नेपाली सिकारी नआउने गरेका हुन् । त्यसका लागि विभागले जानकारी दिनुपर्ने उहाँको धारणा छ ।