भुवनेश्वरी गणेश फल्चा पुनरुत्थान गरिँदै

काठमाडौँ,  मङ्सिर ३ । काठमाडौँ महानगरपालिका वडा नं. ८ ले विकास निर्माणका क्रममा नष्ट भएको ऐतिहासिक भुवनेश्वरी गणेश फल्चाको पुनरुत्थान गर्ने भएको छ। भुवनेश्वरी भकुंटोलमा रहेको उक्त फल्चाको आज शिलान्यास गरिएको छ। वडा कार्यालयले १५ लाख रुपैयाँ लागतमा फल्चा पुनर्निर्माण गर्न लागेको हो ।

शिलान्यास कार्यक्रममा काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले विकासका नाममा भएका पूर्वाधार निर्माणका क्रममा नष्ट भएका प्राचीन स्मारक, संरचना तथा कलाकृतिको पुनरुत्थानमा आफूहरू जुटिरहेको बताउनुभयो। यस्ता सम्पदाको संरक्षण र पुनरुत्थानका लागि सम्बन्धित निकायबाट पर्याप्त सहयोग प्राप्त हुन नसकेको उहाँको भनाइ थियो।

अध्यक्ष संगतका अनुसार काठमाडौँ नगर पञ्चायतले विसं २०३९ मा तयार पारेको सम्पदा सूचीमा उक्त फल्चाको निर्माण मिति विसं १९९३ उल्लेख छ। सूची तयार पार्दाका समयमा पनि फल्चाको भौतिक अवस्था जीर्ण रहेको उल्लेख गरिएको थियो। तर जीर्णोद्धार गर्नुपर्ने सम्पदालाई पशुपति क्षेत्रको विकासका क्रममा पूर्ण रूपमा हटाइएको उहाँले बताउनुभयो।

“पुरानो दस्तावेजका आधारमा भौतिक स्वरूप नै मेटिएको फल्चाको पुनरुत्थान थालेका हौँ,” उहाँले भन्नुभयो, “फल्चा हटाएर सटरयुक्त संरचना बनाइएका र व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका स्थान खाली गराई आगामी १५ दिनभित्र अन्य फल्चाको पनि शिलान्यास गर्ने तयारीमा छौँ।”

विसं २०३९ को अभिलेखमा उक्त फल्चा झिँगटीको छाना राखी प्राचीन शैलीमा निर्माण गरिएको पाटीका रूपमा उल्लेख छ। अभिलेखले यसको तत्काल जीर्णोद्धार गर्नुपर्ने आवश्यकता औँल्याउँदै पश्चिम मोहडाको फल्चाको पूर्व र उत्तरतर्फ घर, पश्चिममा पशुपति जाने बाटो तथा दक्षिणमा गोरेटो बाटो रहेको विवरण समेटेको छ। त्यसबेला उक्त सत्तलमा घरबारविहीन एक परिवार बसोबास गरिरहेको पनि अभिलेखमा उल्लेख छ।

फल्चाको लम्बाइ १२ फिट तीन इन्च र चौडाइ छ फिट रहेको छ। हाल शिलान्यास गरिएको स्थानको पश्चिममा भूःबहाल (बालकुमारी रोड), उत्तरमा भुवनेश्वरी मन्दिर र नासः ननी तथा दक्षिणमा गौशालातर्फ जाने सडक रहेको छ। विभिन्न स्थान जोडिने चौबाटोमा रहेको यो फल्चा स्थानीय सांस्कृतिक तथा सामाजिक गतिविधिका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ।

फल्चा पुनर्निर्माण गर्दा पुरातत्त्व विभागको सहमति लिएर पुरानै शैली, स्वरूप र परम्परागत निर्माण सामग्री प्रयोग गरिने वडा कार्यालयले जनाएको छ। यसबाट विकास निर्माणका क्रममा हराएका स्थानीय सम्पदाको ऐतिहासिक स्वरूप पुनःस्थापित गर्ने प्रयास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *