ठगीको आरोपमा संविधानसभा सदस्य इन्द्रजीत रार्ई पक्राउ
काठमाडाैं, १९ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएकाे आरोपमा संविधानसभा सदस्य इन्द्रजीत रार्ई पक्राउ परेका छन् ।
राईलाई ललितपुरको सौखेलबाट आज बिहान पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले जानकारी दिनुभयो ।
राईले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेकाले पक्राउ गरिएको उहाँको भनाइ छ ।
पक्राउ परेका राईलाई प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ ।
उक्त प्रकरणमा यसअघि प्रहरीले अन्य पाँच जनालाई पक्राउ गरिसकेको छ । यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
राईसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या छ पुगेको छ । उनी रामबहादुर थापा गृहमन्त्री हुँदा थापाका सुरक्षा सल्लाहकार थिए ।
