दार्चुला हिमपहिरो अपडेट : बेपत्ताको पहिचान खुलेपनि उद्धारमा कठिनाइ

धनगढी, २० वैशाख । दार्चुलाको व्याँस गाउँपालिका-१ मा मंगलबार गएको हिमपहिरोमा परेर बेपत्ता पाँच जनाको पहिचान खुलेपनि उद्वार गर्न कठिनाइ भएकाे छ ।

दार्चुला प्रहरीका अनुसार हिमपहिरोमा परेका पाँच जनाको परिचय खुलेको तर उद्वार गर्न कठिनाइ भएकाे जनाएकाे छ ।

प्रहरीका अनुसार बेपत्ता हुनेहरू डोटीको जोरायल गाउँपालिका-२ बुडरकी ४५ वर्षीया नक्की डोमा थापा, २८ वर्षीया ईश्वरी थापा, १५ वर्षीया छिमी सामो थापा, दार्चुलाको दुँहु गाउँपालिका-४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर रहेका छन् ।

मंगलबार यार्सागुम्बा टिप्न गएकाहरू पालमा थकाइमारेर बसेकाबेला हिमपहिरो झरेपछि ७ जनाले भागेर ज्यान जाेगाएका थिए भने ५ जना बेपत्ता भएका थिए ।

मंगलबारै बेपत्ताहरूको खोजी गर्न गएको टोली उद्धारमा कठिनाइ भएकाले फर्किएको थियो । बुधबार बिहान फेरी उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ लागेको छ ।