चलचित्र ‘हल्कारा’ आजदेखि प्रदर्शनमा

काठमाडाैं २९ वैशाख । चलचित्र ‘हल्कारा’ आजदेखि प्रदर्शनमा आएको छ ।
प्रविधिले दिएको यो सहजताको समयभन्दा अघि गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’को कथामा बनेको चलचित्र हाे ।
हुलाकीको सपना र अन्तरसङ्घर्षलाई प्रस्तुत गरिएको सो चलचित्रमा गाउँको परिस्थिति र सामाजिक सचेतना पनि समेटिएको छ ।
कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाले जानकारी दिनुभयो ।
“हामीले देखाउन खोजेको विषयलाई दर्शक बनेर विशेष प्रदर्शनीमा हेर्नुभएकाले महसुस गर्नुभयो । सार्वजनिक प्रदर्शनमा पनि दर्शकको मन जित्नेमा विश्वस्त छौँ”, उहाँले भन्नुभयो, “हुलाकीको आँखाबाट भनिएको जीवनको मर्मस्पर्शी कथा बोकेको चलचित्रमा वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गरिएको छ ।”
निर्देशक सापकोटा नेपालमा स्थापित चलचित्रको भाष्य शैलीमा समेत यसले परिवर्तन ल्याउनेमा विश्वस्त हुनुहुन्छ । उक्त चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
यसको लेखक निर्देशक सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बराल हुनुहुन्छ । चिन्तन राजभण्डारी छायाँकार रहनुभएको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।