मदन–आश्रित स्मृति फुटबल प्रतियोगिता बुधबारदेखि लैनचौमा 

काठमाडाैं, २ जेठ । मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा ६० टोलीको सहभागिता रहने छ ।

प्रतियोगिता यही जेठ ८ गतेसम्म चल्ने छ । प्रतियोगिताका सबै खेल लैनचौरस्थित खेल मैदानमा खेलाइने युवा सङ्घका स्थायी कमिटी सदस्य समीप त्रिपाठीले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधि विजेता टोलीलाई रु तीन लाख, उपविजेतालाई रु दुई लाख र तेस्रो हुने टोलीलाई रु एक लाख पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । उहाँहरुको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी निधन भएको थियो ।