हुम्लाको दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा

हुम्ला, १२ जेठ । हुम्लाको ताँजाकोट गाउँपालिका–३ को दुर्गम गाउँ मासपुरका बासिन्दाले पहिलो पटक स्वास्थ्य तथा अन्य सेवासुविधा पाएका छन् ।

सरकारी निकायको उपस्थिति हुँदै नहुने उक्त बस्तीमा गाउँपालिकाको टोली पुुगेपछि स्थानीयवासीले सेवासुविधा पाएका हुन् ।

यसअघि कहिल्यै सरकारी सेवा तथा सुविधा नपाएको भए पनि यस पटक गाउँपालिकाबाट खटिएको टोलीले घरमै पुुगेर विभिन्न सेवा प्रदान गरेको हो । यस वर्ष पहिलो पटक घरदैलो स्वास्थ्य सेवा र तरकारी किट स्थानीयवासीले पाएका छन् ।

गाउँपालिकाले यस वर्ष घरदैलो स्वास्थ्य जाँच अभियान सञ्चालन गरेको गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख धनराज ढकालले बताउनुभयो । गाउँपालिका केन्द्रबाट एक दिन पैदल हिँडेर स्वास्थ्यकर्मीको टोलीले मासपुुर पुुगेर स्वास्थ्य सेवा प्रदान गरेको प्रमुख ढकालले बताउनुभयो ।

गाउँमा एक सय ५६ जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण निःशुल्क रूपमा गरिएको छ । त्यसैगरी, बिरामीको स्वास्थ्य परीक्षण गर्दा औलो रोगसँग लक्षण मिल्ने बिरामी देखिएपछि १२ जनाको औलो रोगको नमूना सङ्कलन गरिएको ढकालले बताउनुभयो । सम्भावित औलो हुनसक्ने देखिएपछि नमुना सङ्कलन गर्ने कार्य भएको र त्यसलाई ल्याब परीक्षण गरिने बताउनुभयो ।

गाउँपालिकामा बर्सेनि औलोका बिरामी देखिँदै आएका छन् । स्वास्थ्य शाखाले औषधि छर्कने र झूल वितरण गर्ने काम गर्दै आएको छ ।

त्यसैगरी, मासपुरका २० घरधुरीलाई तरकारी किट पनि वितरण गरिएको छ । दुुई दिनसम्म सञ्चालन भएको अभियानमा स्वास्थ्यकर्मीले छाउपडी, छुवाछूत, बालविवाह, बहुुविवाह, बोक्सी प्रथाविरुद्ध पनि जनचेतना फैलाइएको थियो ।