एमालेले गर्याे स्थानीय तहका जनप्रतिनिधिका लागि दुईदिने अनुशिक्षण

काठमाडाैं, १२ जेठ । नेकपा एमालेले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आजदेखि दुईदिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासलमा दुईदिने अनुशिक्षण कार्यक्रम आयोजना गरिएकाे हाे ।

उक्त दोस्रो अनुशिक्षण कार्यक्रममा स्थानीय तहमा बजेट निर्माण गर्ने समय आएको सन्दर्भमा पार्टीका अध्यक्ष केपी शर्मा ओली, पार्टीका नेताहरू र विभिन्न विषयविज्ञबाट प्रशिक्षण दिइने छ ।

कार्यक्रममा पार्टीबाट स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करिब चार सयको सहभागिता रहेकाे छ ।

जनप्रतिनिधिलाई स्थानीय तहको अन्तरसम्बन्ध, समन्वय र साझेदारी तथा पार्टीको भूमिका विषय, स्थानीय तहमा रोजगारी, श्रम र उत्पादनशीलता स्थानीय तह सञ्चालनसम्बन्धी निर्देशिका तथा अन्य कार्ययोजनाका विषयमा प्रशिक्षण दिइनेछ ।