तामाङ संस्कृति मात्र देखाउने उद्देश्य होइन नीरफूल : निर्देशक वल

काठमाडाैं, २१ जेठ । नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका हुन् ।

लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘जारी’ यसको राम्रो उदाहरण बनेको छ । यो चलचित्र प्रदर्शनको एकाउन्न दिन पार गर्दै व्यावसायिक रुपमा सफल भएको छ ।

आउँदो जेठ २६ गते प्रदर्शन हुने चलचित्र ‘नीरफूल’ मा तामाङ संस्कृति समेटिएको छ । उक्त समुदायमार्फत कथा वाचन गरिएको भएता पनि यो जनजातिको मात्र कथा नरहेको चलचित्रका निर्देशक फूलमान वलले जानकारी दिनुभयो ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “चरित्रहरू तामाङ समुदायको भए पनि यसमा तामाङ संस्कृति मात्र देखाउने उद्देश्य होइन । कथा उत्पत्ति भएको ठाउँ तामाङ समुदाय हो तर यो परिवारको बिछोड र मिलनको कथा हो । यो कथालाई हरेक समुदायको मानिसले महसुस गर्न सक्नुहुन्छ ।”

समीक्षक हुँदै निर्देशकसम्मको यात्रा तय गर्दा कमीकमजोरीलाई बुझ्न मदत पुगेको निर्देशक वलले बताउनुभयो । दुई दशक लामो पत्रकारिता यात्रापश्चात् निर्देशनमा उदाउदै गर्नुभएका उहाँले यो यात्रा समीक्षक भएकै कारण सम्भव बताउनुभयो ।

“समीक्षक रहँदा अन्य चलचित्रमा देखिएको कमीकमजोरीलाई केही हदसम्म बुझ्ने मौका पाएको थिएँ । सकभर त्यो गल्ती नगर्ने कोसिस गरेको छु”, निर्देशक वलले भन्नुभयो, “नेपाली चलचित्रमा खोजिएको नयाँपन यसमा हुन् सक्छ । यसमा हाम्रो कथा र व्यथा छ ।”

चलचित्रका अभिनेता दयाहाङ राईले विस्तारै नेपालका विविध संस्कृतिले चलचित्रमा मूलरुपमै स्थान पाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो जरुरी पनि थियो । किनकि हामीसँग हाम्रो मौलिक कथा धेरै छन् । नीरफूलजस्ता चलचित्रले कथामा विविधता ल्याउँछन् ।”

उहाँले यस्ता चलचित्रको महत्व कालान्तरमा अझै बढी हुने बताउनुभयो । ‘जारी’ ले प्राप्त गरेको सफलताले विविध संस्कृतिलाई चलचित्रको पर्दासम्म आइपुग्न व्यावसायिक जोखिमसमेत कम गरिएको उहाँको भनाइ थियो ।

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा अभिनेता राईसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय रहेको छ ।

चलचित्रमा पटकथा लेखन निर्देशक वल र सचिन घिमिरे, छायाङ्कन प्रमोद कार्की, सम्पादन निमेश श्रेष्ठ, सङ्गीत सिर्जना अर्जुन पोखरेल र चन्द्रकुमार दोङले गर्नुभएको छ ।