चितवनमा लम्पीस्किन राेगले मरे ८० गाईभैँसी
चितवन, २५ जेठ । पशु चौपायामा देखिएको लम्पीस्किन रोगका कारण चितवनमा ८० गाईभैँसी मरेका छन् । लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ ।
अस्पतालका प्रमुख सुशील केसीका अनुसार हाल जिल्लामा तीन हजार ८६ गाई र दुई सय ५२ भैँसी गरी तीन हजार चार सय १८ गाईभैँसीमा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । सङ्क्रमण भएकामध्ये ८० गाईभैँसी मरेका छन् ।
सातवटै पालिकामा लम्पीस्किन फैलिएको र राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकामा बढी प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार राप्ती नगरपालिकामा एक हजार ४०५, कालिका नगरपालिकामा दुई सय ६५, खैरहनी नगरपालिकामा २०४ गाईभँैसीमा सङ्क्रमण देखिएको छ । भरतपुर महानगरपालिकामा दुई सय २५, रत्ननगर नगरपालिकामा एक सय १४, इच्छाकामना गाउपालिकमा नौ सय ५२, माडी नगरपालिकामा दुई सय ५३ पशुलाई लम्पीस्किनको सङ्क्रमण देखिएको छ ।
कार्यालयका अनुसार इच्छाकामना गाउँपालिकामा ४९, भरतपुर महानगरपालिकामा १३, राप्ती नगरपालिकामा १०, कालिका र रत्ननगर नगरपालिकामा चार÷चार गाईभैँसी लम्पीस्किनको सङ्क्रमणबाट मरेका छन् ।
झिँगा, भुसुना, लामखुट्टे विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वोरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु बस्तुलाई कमजोर बनाउने कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यले जानकारी दिनुभयो ।
यस राेगकाे सङ्क्रमण फैलिन नदिन गोठ वरिपरी सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउन उहाँले सुझाव दिनुभयो ।