सार्वजनिक बिदामा पनि भक्तपुरका तीन अस्पतालमा स्वास्थ्य सेवा निरन्तर

काठमाडौँ, कार्तिक ३० । सार्वजनिक बिदाका दिन अधिकांश सरकारी स्वास्थ्य संस्थाले नियमित सेवा बन्द गर्ने गरे पनि भक्तपुरका तीन अस्पतालले भने बिरामीको सहजताका लागि स्वास्थ्य सेवा सञ्चालन गरेका छन् ।

भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर नगरपालिका–९ स्थित ख्वप अस्पतालले सार्वजनिक बिदाका दिन पनि बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराएका हुन् ।

सोमबार देशभर सार्वजनिक बिदा भए पनि यी तीनवटै अस्पतालले उपचार सेवा सञ्चालन गरी बिरामीलाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिएको जनाएका छन् । विशेषगरी दीर्घरोगी, क्यान्सरका बिरामी तथा अङ्ग प्रत्यारोपण गरेका बिरामीलाई नियमित उपचार, औषधि सेवन र स्वास्थ्य परीक्षण आवश्यक पर्ने भएकाले बिदाका दिन पनि सेवा सञ्चालन गरिएको हो ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका सूचना अधिकारी हरिहर पोखरेलले बिरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सार्वजनिक बिदाका दिन पनि आवश्यक सेवा सञ्चालन गर्दै आएको बताउनुभयो । कलेजो तथा मिर्गौला प्रत्यारोपण गरेका र प्रत्यारोपणको तयारीमा रहेका बिरामीलाई नियमित औषधि, परीक्षण तथा चिकित्सकीय परामर्श आवश्यक पर्ने भएकाले सेवा निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्यारोपण गरेका बिरामीले नियमित औषधि सेवनसँगै स्वास्थ्य परीक्षण र चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ । सार्वजनिक बिदाका कारण अस्पतालको सेवा बन्द हुँदा बिरामीको उपचार प्रभावित हुन सक्ने भएकाले आवश्यकताअनुसार बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

केन्द्रले शनिबार र आइतबारबाहेक अन्य सार्वजनिक बिदाका दिनमा पनि आवश्यकताअनुसार ओपिडी सेवा सञ्चालन गर्दै आएको छ । वर्षभरिका सीमित सार्वजनिक बिदामा मात्रै सेवा बन्द गर्ने र अन्य बिदामा बिरामीको आवश्यकतालाई प्राथमिकता दिने नीति रहेको पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले पनि वर्षका ३६५ दिन नै स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । अस्पतालका निमित्त निर्देशक डा. मजेश प्रताप मल्लले सार्वजनिक बिदा तथा शनिबारसमेत अस्पतालले नियमित रूपमा सेवा सञ्चालन गर्दै आएको बताउनुभयो ।

बिरामीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले बिदाका दिनमा पनि सेवा निरन्तरता दिएको उहाँको भनाइ छ । आकस्मिक तथा नियमित उपचार आवश्यक पर्ने बिरामीले सार्वजनिक बिदाका कारण समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले अस्पतालले वर्षभरि सेवा सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

क्यान्सर तथा अङ्ग प्रत्यारोपणजस्ता उपचारमा नियमित औषधि सेवन, परीक्षण र चिकित्सकीय निगरानी आवश्यक पर्ने भएकाले सार्वजनिक बिदामा पनि स्वास्थ्य सेवा सञ्चालन गर्ने अस्पतालहरूको पहलले बिरामीलाई उपचारमा सहजता प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *