अन्नपूर्ण संरक्षण क्षेत्रमा पासो थापेर वन्यजन्तुको चोरीसिकार
काठमाडौँ, कार्तिक ३० । अन्नपूर्ण संरक्षण क्षेत्रमा पासो थापेर दुर्लभ वन्यजन्तु तथा पक्षीको अवैध चोरीसिकार हुने क्रम रोकिएको छैन । चोरीसिकार नियन्त्रणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले नियमित वनगस्ती तथा निगरानी बढाउँदै आए पनि बर्सेनि ठूलो सङ्ख्यामा पासो फेला पर्ने गरेका छन् ।
आयोजनाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै संरक्षण क्षेत्रभित्रबाट ३४३ वटा पासो हटाइएको थियो । यसअघि आव २०८१/८२ मा १७३ र आव २०८०/८१ मा ९८ वटा पासो नियन्त्रणमा लिइएको थियो । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कले संरक्षण क्षेत्रमा पासो थापेर हुने चोरीसिकारको चुनौती बढ्दै गएको देखाएको छ ।
आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार दसैँ-तिहार र चैत–वैशाखको समयमा चोरीसिकारका लागि पासो थाप्ने प्रवृत्ति बढी देखिने गरेको छ । नियमित वनगस्तीका क्रममा धेरैजसो पासो फेला पर्ने गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार कस्तुरीमृग, हिमाली कालो भालु, डाँफे र मुनालजस्ता वन्यजन्तु तथा पक्षीको सिकार गर्न पासो थाप्ने गरिएको छ । कतिपय वन्यजन्तु पासोमा परेर मरेको अवस्थामा समेत उद्धार गर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।
कस्तुरीमृगको वीणा, भालुको पित्त र चितुवाको छालाका लागि वन्यजन्तुको सिकार हुने गरेको आयोजना प्रमुख डा. कडरियाको भनाइ छ । कतिपय स्थानमा बालीनाली जोगाउने तथा वन्यजन्तुको मासु उपभोग गर्ने उद्देश्यले पनि चोरीसिकार हुने गरेको उहाँले बताउनुभयो । यद्यपि, चोरीसिकारका घटना देखिए पनि पछिल्लो समय संरक्षण क्षेत्रबाट अन्यत्र वन्यजन्तुको तस्करी भएको भने नपाइएको उहाँले जानकारी दिनुभयो ।
आयोजनाका अनुसार आव २०८२/८३ मा कस्तुरीमृग, घोरल र निरबिरालोसहित चार वटा वन्यजन्तुको अवैध सिकार भएको थियो । यसअघि आव २०८१/८२ मा नौ र आव २०८०/८१ मा १२ वटा वन्यजन्तु चोरीसिकारमा परेका थिए ।
चोरीसिकारका अतिरिक्त छाडा कुकुरको आक्रमण र सवारीसाधनको ठक्करका कारण पनि संरक्षण क्षेत्रका वन्यजन्तु मर्ने गरेका छन् । विशेषगरी छाडा कुकुरले कस्तुरीमृग र नाउरलगायत वन्यजन्तुलाई आक्रमण गरी मार्ने गरेको पाइएको छ ।
आयोजना प्रमुख डा. कडरियाका अनुसार छाडा कुकुरको आक्रमणबाट पछिल्ला तीन आर्थिक वर्षमा १२ वटा वन्यजन्तुको मृत्यु भएको छ । कुकुरको सङ्ख्या नियन्त्रण तथा व्यवस्थापनका लागि आयोजनाले बर्सेनि बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्दै आए पनि वन्यजन्तुमाथिको आक्रमण पूर्ण रूपमा रोक्न सकेको छैन ।
चोरीसिकार नियन्त्रणका लागि वनगस्ती बढाउनुका साथै सिसी क्यामेरा जडान र ड्रोनमार्फत निगरानी गर्ने कार्यलाई तीव्रता दिइएको आयोजना प्रमुख कडरियाले बताउनुभयो । उहाँले वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय बासिन्दा र समुदाय स्वयं पनि सचेत तथा जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडामा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिन्छ । हिउँचितुवा, कस्तुरीमृग, नाउर र हिमाली थारलगायत दुर्लभ वन्यजन्तु तथा विविध हिमाली वनस्पतिको बासस्थान रहेको यस क्षेत्रमा विभिन्न प्रजातिका स्तनधारी वन्यजन्तु, दुर्लभ पक्षी र सरिसृप पाइन्छन् ।
वन्यजन्तुको चोरीसिकार, छाडा कुकुरको आक्रमण र अन्य मानवीय गतिविधि नियन्त्रण हुन नसके यस क्षेत्रको जैविक विविधता तथा दुर्लभ वन्यजन्तुको अस्तित्वमा थप जोखिम बढ्ने संरक्षणकर्मीहरूको चिन्ता छ ।
