पार्टी एकता र सङ्गठन सुदृढीकरणका लागि राष्ट्रिय भेला : महासचिव पोखरेल
काठमाडौँ, कात्तिक ३० । नेकपा (एमाले)ले आगामी मङ्सिर २ र ३ गते आयोजना गर्ने राष्ट्रिय भेलाको तयारी पूरा गरेको जनाएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख नीरज आचार्यले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा पार्टी महासचिव शङ्कर पोखरेलले पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको बताउनुभयो । उहाँले भेलामा आगामी स्थानीय तहको निर्वाचनको तयारीका विषयमा समेत छलफल हुने जानकारी दिनुभयो ।
महासचिव पोखरेलका अनुसार पार्टी केन्द्रीय कमिटीले तय गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई एकताबद्ध रूपमा कार्यान्वयन गर्दै जनतामाझ प्रभावकारी ढङ्गले सम्प्रेषण गर्नु भेलाको मुख्य उद्देश्य रहेको छ ।
उहाँले भन्नुभयो, “आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी, पार्टीका निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा पार्टीपङ्क्तिभित्र एकरूपता कायम गरी वैचारिक तथा सङ्गठनात्मक एकतालाई सुदृढ बनाउनु भेलाको उद्देश्य हो ।”
भेलाले पार्टीलाई नयाँ गति प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न पनि भेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, प्रवाससहित पार्टीका प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी र पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष गरी करिब तीन हजार ४१४ जनाको सहभागिता रहनेछ ।
भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशासहित वैचारिक तथा राजनीतिक मार्गदर्शन प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार भेलामा मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिनेछ । पार्टी उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा तथा अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका महत्वपूर्ण काम र उपलब्धिको समीक्षा प्रस्तुत गर्नुहुनेछ ।
त्यसैगरी महासचिव पोखरेलले पार्टी शुद्धीकरण, सङ्गठन सुदृढीकरण तथा आगामी स्थानीय तह निर्वाचनको कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।
