प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रम भट्टराईविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं, ३० जेठ । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको रिटमा कारण देखाउ आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मुद्दालाई अग्राधिकार दिनुका साथै उक्त विषयमा प्रचण्ड र भट्टराईसँग लिखित जवाफ मागेको हाे ।

तत्कालीन माओवादीका बाल सैनिक लेनिन विष्टले युद्ध अपराधमा कारबाहीको माग गर्दै प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध रिट दर्ता गरेका थिए ।

सशस्त्र युद्धताका बालसेना रहेका विष्ट पछि अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका थिए। यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै दरपीठ गरिदिएको थियो।

यसअघि पनि द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध परेको अर्को मुद्दा सर्वोच्चमा विचाराधीन छ।