लमजुङको पहिरोले मनाङयात्रा सकस
लमजुङ, ३ असार । वर्षा डुम्रे–बेँसीशहर–चामे सडक खण्डअन्र्तगत लमजुङको बेँसीशहर नगरपालिका–९ खरखरेमा पहिराले बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रा सकस भएको छ ।
वर्षासँगै पहिरो खसेर सडक अवरुद्ध भएकाले हिमाली जिल्ला मनाङको यात्रा सकस भएको हाे । सडक अवरुद्ध हटाउनका लागि डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयले एक्साभेटरलगायत सामग्री तयारी अवस्थामा राखेको छ ।
मनाङको मेरुदण्डको रूपमा रहेको उक्त सडक अवरुद्ध हुन नदिन ती उपकरण तयारी अवस्थामा राखिएको कार्यालयका सब–इञ्जीनीयर एवं साइड इञ्चार्ज सुमन अधिकारीले जानकारी दिनुभयो ।
“मनाङको यात्रा अन्य समयमा पनि जोखिम हुन्छ तर वर्षायाममा अझ बढी जोखिम हुन्छ, जोखिमलाई न्यूनीकरण गर्न नसके पनि सडक सहज बनाउने कार्यमा प्रतिबद्ध छौंँ। यसरी ठाउँ–ठाउँमा एक्साभेटर तयारी अवस्थामा राखिए दोहोरो तर्फबाट पहिरो हटाउन सहज हुने हुन्छ ।”
सब–इञ्जीनीयर अधिकारीले भन्नुभयो, “यात्रा सकस हुन्छ भनेर यात्रा पछि सार्नुपर्ने अवस्था छैन, यात्रा गर्न सक्नुहुन्छ । मनाङ आउने पर्यटकले कस्तो होला भन्दै बस्नुपर्ने अवस्था छैन ।”
प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गोलले वर्षायामको समयमा मनाङको सडक अवरुद्ध हुन नदिन उक्त सडक योजनालाई अनुरोध गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विकट क्षेत्र भनेर सधैँ सडक अवरुद्ध भएर बस्नुपर्ने बाध्यता हटाउन योजनासँग समन्वय गरिएको छ, यसवर्ष यो सडकमा लामो समय सडक अवरुद्ध भएर बस्नुपर्ने हुँदैन ।”
एक सय सात किलोमिटरमध्ये ३५ किलोमिटर लमजुङ जिल्लाको भाग पर्दछ भने ६५ किलोमिटर मनाङमा पर्दछ । यस आयोजनाले मनाङको सदरमुकाम चामेसम्मको खण्डको काम गर्ने गर्दछ ।