कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुँदै

विराटनगर, ४ असार । कोशी प्रदेश सरकार र प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच आज वार्ता हुँदैछ । वार्ता आज बिहान विग होटल विराटनगरमा हुन लागेको हो ।

कोशी सरकारले पहिचानवादी आन्दोलनकारीसँग वार्ता गर्न मन्त्रीस्तरीय समिति बनाएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा बनाइएको सरकारी वार्ता टोलीमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधारमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य रहेका छन् ।

सरकारले वार्ताका लागि पत्राचार गरेको एक सातापछि प्रदेश नंं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले पनि कोशी प्रदेश सरकारसँग वार्ता गर्न आइतबार टोली बनाएको छ ।

वार्ता टोलीमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु रहेका छन् । उनीहरु विभिन्न पार्टी र जातीय संघ संस्थाका प्रतिनिधि हुन् ।

फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि नामकरणविरुद्ध आन्दोलन सुरु भएको थियो । कोशी नाम एकल जातीय नाम भएको भन्दै आन्दोलनकारीहरुले पहिचानमा आधारित नाम पुनः राख्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।