मलेसियालाई हराउँदै नेपाल बने समूह विजेता
काठमाडौं, १५ असार । एसीसी पुरुष यू १६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराउँदै विजयी बनेका छन् ।
मलेसियासंगकाे जितसँगै नेपाली टोली समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएको घरेलु टोली मलेसिया भने उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो ।
शुक्रबार भएकाे खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ३३.४ ओभरमा अलआउट हुनुअघि एक सय ८३ बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने ३०.५ ओभरमै अलआउट हुनुअघि ९९ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि अशोक धामीले ५२ रन बनाए । अशोकले पाँच छक्का र तीन चौका हाने । ओपनर ब्याट्सम्यान सूर्यान्सु कोइराला २९ रनमा पेभेलियन फर्किए । उनले २६ बलको सामना गरी पाँच चौका हिर्काएका थिए ।
ओपनर निरजकुमार यादव आठ रनमा आउट भए भने तेस्रो नम्बरमा क्रिज समाल्न आएका दीपुकुमार पनि १५ रनभन्दा अगाडि बढ्न सकेनन् । प्रतिक भट्टराई चार रनमै आउट भए भने नरेन भट्टले २९ रन बनाए । कीर्तिक कामतले खातामा १६ रन थपेका थिए ।
आठौं विकेटका लागि आशोक धामी र नरेनबीच ३४ बलमा ४५ रनको साझेदारी भएको थियो । त्यसपछि नवौं विकेटका लागि अकोश र कीर्तिक कामतबीच ३९ रनको साझेदारी भएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको मलेसियालाई लक्ष्यसम्म पुग्न नदिन नेपाली बलर अशोक धामी एक्लैले चार विकेट लिए । उनी म्यान अफ दी म्याच पनि घोषित भए ।
